Skip to main content

एउटै पार्टीबाट दुई जनाको मुख्यमन्त्रीमा दाबी परेपछि सुदूरपश्चिममा दोस्रो पटक सरकार आह्वान

Submitted by editor on
शिवराज भट्ट
एउटै पार्टीबाट दुई जनाको मुख्यमन्त्रीमा दाबी परेपछि सुदूरपश्चिममा दोस्रो पटक सरकार आह्वान

धनगढी : एउटै पार्टीबाट दुई जनाले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि सुदूरपश्चिममा प्रदेश प्रमुखले दोस्रो पटक मुख्यमन्त्रीमा दाबी आह्वान गरेका छन । प्रदेश प्रमुख नजिर मियाँले बैशाख ६ गते बेलुकी ५ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार नै मुख्यमन्त्रीको दाबी आह्वान गरेका हुन ।

संविधानको धारा १६८ (२) मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्ने प्रावधान छ । यसअघि प्रदेश प्रमुख मियाँले बैशाख २ गते बेलुकी ५ बजेसम्म मुख्यमन्त्रीको दाबी पेश गर्ने समय तोकेका थिए । बैशाख २ गते सत्ता गठबन्धनलाई चुनौती दिदै काँग्रेसका १८, समाजवादीका ४, राप्रपाका १ र नागरिक उन्मुक्तिका ७ जना प्रदेश सभा सदस्यको समर्थन रहेको भन्दै उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । 

त्यस लगत्तै नागरिक उन्मुक्तिकै कैलाश चौधरीले पनि माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ जना र स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको भन्दै दाबी पेश गरेका थिए । 

मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिबाटै २ जनाको दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाले दलहरुसँग अध्ययनका लागि २ दिनको समय मागेका थिए । नागरिक उन्मुक्तिकै दुई जनाको दाबी परेको र उसका ७ जनाको समर्थन लक्ष्मणकिशोरलाई हो वा कैलाशलाई भन्ने कुराको स्पष्टता नभएकाले प्रदेश प्रमुख नजिर मियाँले दुबैको दाबी खारेज गरी बैशाख ६ गते विहीबार बेलुकी ५ बजेसम्म स्पष्ट बहुमत खुल्ने गरी मुख्यमन्त्रीमा दाबी पेश गर्न सूचना जारी गरेका छन ।

नागरिक उन्मुक्तिबाट मुख्यमन्त्री दाबी पेश गरेका लक्ष्मणकिशोर रेशम पक्षका हुन भने कैलाश रञ्जीता पक्षका हुन । ७ जना प्रदेश सभा सदस्य रहेको नागरिक उन्मुक्तिभीत्र ५ जना रेशमको पक्षमा र २ जना रञ्जीताको पक्षमा देखिएका छन । 

यसअघि मंगलबार दिउसो नेकपा एकीकृत समाजवादीले पनि लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको थियो । समाजवादीका संसदीय दलका नेता दीर्घ बहादुर सोडारी आफै प्रदेश प्रमुखको निवासमा पुगेर समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख मियाँलाई बुझाएका थिए ।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा १ जनाको निधन भएपछि अहिले ५२ प्रदेश सभा सदस्य छन । काँग्रेस १८, माओवादी सभामुख सहित ११, नेकपा एमाले उपसभामुख सहित १०, नागरिक उन्मुक्ति पार्टी ७, समाजवादी ४, राप्रपा १ र स्वतन्त्र १ जना सदस्य छन । सरकार बनाउनका लागि २७ जनाको बहमुत आवश्यक पर्छ ।