धनगढी : सुदूरपश्चिममा समाजवादीका नेता दीर्घ बहादुर सोडारीले मुख्यमन्त्रीको सपथ लिएकै भोलीपल्ट नागरिक उन्मुक्तिका एक जना प्रदेश सभा सदस्यले समर्थन फिर्ता लिएको घोषणा गरेपछि अल्पमतमा परेका छन ।
मन्त्री पदको सपथका लागि प्रदेश प्रमुखको कार्यालय बोलाएको तर त्यहाँ बिना विभागीय मन्त्री बनाउने र मन्त्रालय फुटाएर विभाग तोक्ने भनेर अपमान गरेको भन्दै नागरिक उन्मुक्ति पार्टीकी प्रदेश सभा सदस्य टीका थापाले समर्थन फिर्ता लिएको घोषणा गरेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका हुन ।
‘मलाई मन्त्रीको सपथ खाने भनेर प्रदेश प्रमुखको कार्यालय बोलायो, पछि बिना विभागीयमा सपथ खान भनियो । मन्त्रालय तोडफोड गरेर विभाग तोक्ने भनियो । मलाई अपमान महसुस भयो, प्रदेश संरचनाका बारेमा जनता निरास रहेका बेला मन्त्रालय तोडेर मन्त्री खान मन लागेन, त्यसैले सोडारीलाई दिएको समर्थन फिर्ता लिएको छुु’ टीका थापालाई उदृध गर्दै उनका श्रीमान रतन थापाले फेसबुकमा स्टाटस हालेका छन ।
सोडारी माओवादीका १०, एमालेका १०, समाजवादीका ४, स्वतन्त्र १ र २ जना नागरिक उन्मुक्ति (रञ्जीता पक्ष) का गरी २७ जनाको बहमुत पाउने भन्दै सरकारमा गएका थिए । नागरिक उन्मुक्तिका ७ जना प्रदेश सभा सदस्य भएपनि ५ जना रेशमको पक्षमा छन । रेशम चौधरी सोडारीको नेतृत्वलाई समर्थन नगर्ने पक्षमा छन ।
एक जनाको समर्थन नहुने वित्तिकै मुख्यमन्त्रीमा सोडारीले विश्वासको मत पाउदैनन । ५३ सदस्यीय प्रदेश सभामा काँग्रेसका १ जना प्रदेश सभा सदस्यको निधन भएपछि अहिले प्रदेश सभामा ५२ जना सदस्य छन । बहुमतमा लागि २७ जना प्रदेश सभा सदस्यको संख्या आवश्यक पर्छ ।
उन्मुक्तिकी टीका थापाले सोडारीलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेपछि फेरि सोडारी संकटमा परेका छन । उनलाई विवादास्पद ब्यक्ति भएको भन्दै सत्ता गठबन्धनकै घटक एमालेले अन्तिम समयसम्म पात्र परिवर्तनको अडान राखेको थियो । एमालेले समर्थन गरेपनि उसले तत्काल सरकारमा भने नजाने बताएको छ ।