Skip to main content

बझाङमा यसरी हुदैछ मतदान, विहान कम उपस्थिति, दिउसो बढनसक्ने अनुमान (फोटोफीचर)

Submitted by editor on
ईबिगुल संवाददाता
 मतदान सुरु

बझाङ :  बझाङमा प्रदेश सभा सदस्यको मतदान सुरु भएको छ । विहान ७ बजेदेखि निर्वाचन क्षेत्रभरी शान्तिपूर्ण रुपमा मतदान सुरु भएको हो । विहान अधिकांस मतदान केन्द्रमा मतदाताको न्यून उपस्थिति रहेको मतदान अधिकृतको कार्यालयले जनाएको छ ।

पहाडि जिल्ला भएकाले विहानको समयमा घरखेतको काम गर्न सहज हुने भएकाले घरखेतको काम गरेर दिउसो मात्रै मतदान केन्द्रहरुमा मतदाताको उपस्थिति हुने बताइएको छ । उच्च क्षेत्रका बासिन्दा यार्सागुम्बा टिप्न गएकाले पनि मतदानमा न्यून उपस्थिति हुने अनुमान गरिएको छ ।

बझाङका अधिकांस उच्च हिमाली क्षेत्रका जनताका लागि यो सिजन भनेको यार्सा संकलनको समय हो । उनीहरु यार्सा संकलन गरेर वर्षभरीको खर्चको जोहो गर्ने गर्छन । ‘यसपाली पनि मतदाताहरु मतदान भन्दा पनि यार्सागुम्बा संकलनका लागि गएका छन’ स्थानीय बल बहादुर भण्डारीले भने ।

निर्वाचन आयोगका अनुसार बझाङ १ (१) मा कुल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेका छन ।  त्यसमध्ये २७ केन्द्र सामान्य, २४ संवेदनशील र २३ अतिसंवेदनशील छन् ।

अतिसंवेदनशील मतदान स्थलमा सुरक्षा ब्यवस्था अझ कडा पारिएको छ । आयोगबाट प्रकाशित अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । बझाङ १(१)मा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।