Skip to main content

‘औषधि र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुला गर्नुपर्छ’

Submitted by editor on
एजेन्सीहरुको सहयोगमा
गृहमन्त्री रवि लामिछाने

काठमाडौं : गृहमन्त्री रवि लामिछानेले औषधि र औद्योगिक प्रयोजनका लागि गाँजा उत्पादन खुला गर्ने आवश्यक नियमावली ल्याउने बताएका छन् । 
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा लामिछानले औषधि र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुला गर्नका लागि नियमावली बनाउन मन्त्रालयले अध्ययन गरिरहेको र एक महिनाभित्रै नियमावली ल्याउने बताए । 

नेपालमा गाँजालाई व्यवसायीकरण गर्ने उद्देश्यले नै बजेट विनियोजन गरिएको भन्दै आवश्यक सुरक्षा चुनौतीका विषयमा मन्त्रालयले गम्भीर भएर काम गर्ने उनले बताए । यसअघिका विभिन्न प्रतिवेदनलाई अध्ययन गरेर अन्तिम निष्कर्ष निकाल्ने अवस्थामा गृहमन्त्रालय रहेको उनको भनाइ छ । 

बैठकमा अर्थमन्त्री वर्षमान पुनले मुलुकलाई आर्थिकरूपमा अघि बढाउनका लागि नै गाँजाको औषधि र औद्योगिक प्रयोजनका लागि उत्पादनमा जोड दिइएको जानकारी दिए । 

अप्रत्यक्षरूपमा गाउँगाउँमा गाँजा खेती भइरहेको सन्दर्भमा अनुसन्धानका लागि गाँजा तत्काल खुला गरिँदा कसैले पनि डर मान्न नपर्ने तर यसका कारण हुने विकृतिलाई भने ध्यान दिइनुपर्ने उनको भनाइ छ ।

बैठकमा समिति सदस्यहरूले व्यवस्थितरूपमा गाँजा उत्पादनलाई खुला गर्न सके मुलुकको आर्थिक अवस्थालाई पनि सहयोग पुग्ने धारणा राखेका थिए । यसका कारण हुनसक्ने नकारात्मक अवस्थालाई नियन्त्रण गर्न राज्यले आवश्यक कानुन बनाउनुपर्ने उनीहरूको सुझाव छ । 

गाँजा खेती औषधि प्रयोजनका लागि व्यवसायिक उत्पादन, प्रशोधन तथा विक्री वितरणलगायतका विषयलाई वैधानिकता दिन कानुनी वातावरण मिलाउने सम्बन्धमा समितिले सरोकारवाला मन्त्रालयसँग छलफल गरेको हो ।