Skip to main content

नीति तथा कार्यक्रम अनुसार नै बजेट आए पास हुन नदिने काँग्रेसको चेतावनी

Submitted by editor on
कमल बहादुर शाह

धनगढी : पूर्वमुख्यमन्त्री तथा नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका नेता कमल बहादुर शाहले नीति तथा कार्यक्रम अनुसारकै बजेट आए पास हुन नदिने चेतावनी दिएका छन । 

सरकार विस्तार भएकै दोस्रो दिन मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै पूर्वमुख्यमन्त्री शाहले यस्तो बताएका हुन । ‘नीति तथा कार्यक्रममा ब्यक्तिका नामहरु समावेश भएका छन । प्रदेशमा सीमा भन्दा ठुलो बजेटको तयारी भईरहेको छ, त्यसो भएमा हामी कुनै पनि हालतमा बजेट पास हुन दिन्नौ’ शाहले भने ।

‘यो नीति तथा कार्यक्रममा भएको धेरै कुरा बजेटमा आउनु हुँदैन । यसलाई सुधार गरेर लैजानु पर्छ ’ उनले भने । ‘नीति तथा कार्यक्रम अनुसारको बजेट आए हामी प्रतिवाद गर्छौ । उनले बजेटको रातो किताब हेरेर विरोधको शैली तय गरिने बताए ।

‘हामीले व्यक्तिगत फर्मलाई पैसा नहाल्ने प्रयास गरेका थियौँ तर, त्यो नीति तथा कार्यक्रममा ब्यक्तिगत योजना देखिएका छन’ उनले भने । ‘खल्तीका योजना हाम्रो नेतृत्वको सरकारले सृजना गरेको होइन, आज पनि त्यहि भइरहेको छ । हामी त्यसको विरोध गर्छौ ।’

उनले योजना पार्न बिचौलियाको बिगबिगि भएको आरोप लगाए । ‘बजेट कर्मचारीले होईन, कसैको सचिवालयले बनाईरहेको छ । योजनामा बिचौलियाको बिगबिगी देखिएको छ, अब बजेट कस्तो आउछ, हेरेर प्रतिवादको शैली अपनाईन्छ’ उनले भने ।

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका शाहले अहिलेको सरकारले मन्त्रालय तोडफोड गरेर जनताको भावनामाथि खेलवाड गरेको बताए । ‘त्यसै त संघीयता मन नपराउनेहरु प्रदेश संरचना प्रति औंला उठाई रहेका छन, झन त्यसैमा मन्त्रालय तोडफोड गरे जनतामा निरासा छाउछ’ उनले भने ।