Skip to main content

बैतडीमा कुटेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
एकजनालाई पक्राउ

बैतडी : बैतडीमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले पाटन नगरपालिका वडा नम्बर ४ चिल्लेपानीका ६५ वर्षीय प्रतापसिंह ऐरीलाई पक्राउ गरेको हो । 

बुधबार उनले श्रीमती सुना ऐरलाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । घरायसी विवादका कारण उनले श्रीमती कुटेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमबिक्रम केसीले बताए ।

प्रहरी निरिक्षक केसीले प्रतापसिंह ऐरीलाई ६० वर्षीया पन्ती सुना ऐरीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको बताए । निर्धात कुटपिटबाट गम्भीर घाइते भएकी सुनाको बुधबार जिल्ला अस्पताल बैतडीले रेफर गरेपनि उनको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

पत्नीसँगै प्रतापसिंहले २२ वर्षीया बुहारी भावना ऐरीलाई समेत कुटपिट गरेका प्रहरीले जनाएको छ । भावना पनि घाइते छिन् । प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ ।