Skip to main content

जेष्ठ नागरिकलाई राष्ट्रिय परिचय पत्र बनाउन कञ्चनपुरमा पनि सकस

Submitted by editor on
देशभरीमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रसाशन कार्यालय कञ्चनपुरमा परिचयपत्र बनाउनेहरुको भीड बढेको हो ।
महादेव अवस्थी
दिनभर लाइन बस्दा पनि उनको पालो आएन

महेन्द्रनगर : बुधबार बिहानै ६ बजे कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ७२ वर्षीया भवानी दत्त अवस्थी श्रीमती देवासंगै जिल्ला प्रशासन कार्यालय कञ्चचनपुर पुगे । राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गर्न दिनभर लाइन बस्दा पनि उनको पालो आएन । 

घरबाट बिहानै ५ बजे ६१ वर्षीया श्रीमती देवा अवस्थीसंगै राष्ट्रिय परिचयपत्र बनाउन प्रशासन कार्यालय हिडेका उनी दिनभर भोकभोकै लाइनमा बस्नुपर्दा निकै थकित देखिन्थ्ये । वृद्धभत्ताका लागि राष्ट्रिय परिचयपत्र नभइनहुने भएपछि दुबै बुढाबुढी परिचयपत्र बनाउन दोस्रो दिन प्रशासन कार्यालय पुगेको उनले सुनाए । 

‘परिचयपत्रका लागि निकै दुःख रहेछ, घरबाट बिहानै ५ बजे बुढाबुढी आएका हौ, अहिलेसम्म पालो आएको छैन’ उनले निराश हुदै भने । ‘हामी बाहिर केहि खादैनौ, भोकै दिनभर लाइनमा बस्नु परेको छ ।’

बुढापाकाहरु र अपाङ्गता भएका नागरिकहरु जिल्ला प्रशासन कार्यालयको सेवाग्राही कक्ष बाहिर कोहि भुइकै सुतेका देखिन्थे भने कोहि बेन्चमै निदाएका थिए । प्रचण्ड गर्मीको कुनै प्रवाह नगरि अधिकांश वृद्धवृद्धाहरु आफन्तसंगै परिचयपत्र बनाउन पालो कुरेर बसेका देखिन्थे ।  

देशभरीमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रसाशन कार्यालय कञ्चनपुरमा परिचयपत्र बनाउनेहरुको भीड बढेको हो ।  बेदकोट नगरपालिका–७ की हिरुली देवी भट्टले दुई दिन पालो कुरेपनि राष्ट्रिय परिचयपत्र बनाउन नसकेको गुनासो गरिन ।

‘मंगलवार दिनभर लाइनबस्दा पनि हाम्रो पालो आएन त्यसदिन रित्तोहात घर फर्कियौ’ भट्टले भनिन । ‘बुधबार पनि तीन बजेसम्म पालो आएको छैन फाराम भित्र दिएका छौ ।’ बुधबार बिहानै ६ बजेदेखि आएर गेटमा लाइन बसेको उनले बताइन । ‘यस्तो गर्मीमा पाउनु दुःख पाइयो, हाम्रो दुःख कसले देख्छ र’ उनले भनिन । ‘टन्टलापुर घामले टाउको दुखिसक्यो बिहानैदेखि भोक भोकै छु ।’

भीमदत्त नगरपालिका–९ का कृपा धामीले दुईदिन पालो कुरेपछि फोटो खिच्न पाएको सुनाए । ‘हिजो बिहान ६ बजेदेखी लाइन बसेको थिए, पालो आएन’ धामीले भने । ‘आज पनि ६ बजे आएको हुँ, बल्ल तीन बजे फोटो खिच्न पाए अब त केही हुन्छ की ।’ उनले राष्ट्रिय परिचयपत्र बनाउन आउँदा निकै सास्ती खेप्नु परेको बताए ।

दिनभर चर्को गर्मीमा भोकभोकै बस्दा वृद्धवृद्धाहरु विरामी पर्न थालेका छन । शुक्लाफाँटा नगरपालिका–७ का ७३ वर्षीया भुरी भट्ट पनि नाती विरेन्द्र भट्टका साथ बिहानै ७ बजे जिल्ला प्रशासन कार्यालय पुगिन । दिउँसो तीन बजेसम्म पनि पालो नआएपछि उनी आज परिचयपत्र नबन्ने होकि भन्ने चिन्तामा थिइन । 
‘त्यत्रो टाढाबाट आएका छौ, आज अहिलेसम्म पालो आएको छैन फेरि भोली आउनुपर्ने होकि’ उनले चिन्तित हुदै भनिन । ‘सरकारले टाढा घर भएकाहरुलाई केहि व्यवस्था गरिदिएको भए हुने ।’ उनले पहिला वडा कार्यालयमा परिचयपत्र बनाउदा थाहा नपाएको बताए । 

‘वडामा परिचय पत्र बनाउँदा सजिलो हुन्थ्यो त्यतिबेला मलाइ कसैले केहि भनेनन’ उनले गुनासो गर्दै भनिन । ‘अहिले यो भएन भने भत्ता आउँदैन भन्छन मैले दुःख पाउनु रैछ ।’ उनले वृद्धवृद्धाहरुका लागि सरकारले वडा कार्यालयमै परिचयपत्र बनाउने व्यवस्था गर्नुपर्ने बताइन । 

उनका सहयोगी विरेन्द्रले समयमै सरकारले सुचना नगरिदिदा अहिले प्रचण्ड गर्मीमा बुढापाकाहरुले दुःख पाएको बताए । ‘सुरुमै सरकारले परिचयपत्र बिना भत्ता पाउदैन भनेको भए अहिले यत्रो भीड हुने थिएन’ उनले भने । ‘अहिले वृद्धवृद्धाहरुले दुःख पाउनु परेको छ ।’ उनले सहज रूपमा सेवा पाउने वातावरण बनाउनु पर्ने बताए । ‘सरकारले जनतालाई कसरी हुन्छ सहज रूपमा सेवा दिनुपर्छ यसरी दुःख दिएर भएन’ उनले भने । 

राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको घुइँचो छ । परिचयपत्र बनाउन ज्येष्ठ नागरिक बिहान ६ बजेदेखीे नै जिल्ला प्रशासनमा लाइन लाग्न आइपुग्ने गरेका छन ।  मंगलवारदेखी प्रशासनले ७ बजेदेखी नै सेवा दिने भएपछि सेवाग्राहीहरु लाइनमा बस्न सहान ६ बजे नै जिल्ला प्रशासन कार्यालय पुग्ने गरेका छन ।

राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले आइतबार देखी बिहिबारसम्म बिहान सात बजेदेखी बेलुका सात बजेसम्म सेवा दिन थालेको छ । 

शुक्रवार बिहान ८ बजेदेखी ४ बजेसम्म सेवा सुचारु गरेको छ । स्थानीय तहहरुले पनि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य भएको हुँदा राष्ट्रिय परिचयपत्रको फारम भर्न अनुरोध गरेका छन । 

जिल्लाका स्थानीय तहले सूचना प्रकाशित गरी आगामी साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता पाउने नयाँ लाभग्राही तथा भत्ताको नवीकरण गर्ने लाभग्राहीले राष्ट्रिय परिचयपत्र अनिवार्य भएको हुँदा राष्ट्रिय परिचयपत्र बनाउन बाँकी रहेका लाभग्राहीले राष्ट्रिय परिचयपत्रको फारम भर्न अनुरोध गरेको छ ।