Skip to main content

धनगढीमा ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ मा साढे ४५ लाख संकलन

Submitted by editor on
ईबिगुल संवाददाता
धनगढी उपमहानगरपालिका

धनगढी : धनगढी उपमहानगरपालिका भीत्रका सामुदायीक विद्यालयहरुका विद्यार्थीहरुलाई कापीकिताब र पोशाख सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ मा शुक्रबार सम्म ४५ लाख ६३ हजार २५० रुपैयाँ सहयोग प्राप्त भएको छ ।

मेयर गोपाल हमालको सचिवालयले दिएको जानकारी अनुसार शुक्रबारसम्म यो रकम संकलन भएको हो । शुक्रबार मात्रै ग्लोबल आइएमई बैंकले ५ लाख रुपैयाँ सहयोग गरेको छ । नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि बैंकले पाँच लाख रुपैयाँको चेक नगरप्रमुख गोपाल हमालाई हस्तान्तरण गरेको हो ।

त्यस्तै सिद्धार्थ बैंक धनगढी शाखाले पनि नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रमका लागि छनौट भएका नमूना विद्यालयका बालिकाहरूको पोशाकका लागि आर्थिक सहयोग गरेको छ । बैंकले नगरप्रमुख शैक्षिक सुधार कोषमा बुधवार २ लाख १० हजार रुपैयाँको चेक नगरप्रमुख हमाललाई हस्तान्तरण गरेको छ ।

गरिमा विकास बैंक धनगढी शाखाले छनौट भएका नमूना विद्यालयका बालिकाहरूको पोशाकका लागि आर्थिक सहयोग गरेको छ । बैंकले नगरप्रमुख शैक्षिक सुधार कोषमा बुधवार नै ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको उपमहानगरपालिकाले जनाएको छ । 

आर्थिक अभावका कारण विद्यालय पोसाक, शैक्षिक सामग्री लगायतका सामान जोहो गर्न समस्या भएका विपन्न परिवारका बालबालिकाहरुको पठनपाठनमा सघाउन उपमहानगरपालिकाले ‘नगर प्रमुख शैक्षिक सुधार कोष’ स्थापना गरेको हो । 

कोषमा विभिन्न संघसंस्था तथा ब्यक्तिले स्वस्फूर्तरूपमा आर्थिक सहयोग गर्दै आएको र सहयोगी संख्या बढ्दै गएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका विद्यालयलाई छनौट गरी नमुना विद्यालय बनाउन थालेको छ । 

ती विद्यालयमा अध्ययनरत छात्रछात्राहरु आर्थिक अभावका कारण ‘ड्रप आउट’ हुन नपरोस् भनेर ‘नगर प्रमुख शैक्षिक सुधार कोष’ स्थापना गरिएको धनगढी नगरप्रमुख गोपाल हमालले बताए ।