Skip to main content

आफैले तोडेका मन्त्रालय फेरि जोडे मुख्यमन्त्री सोडारीले

Submitted by editor on
ईबिगुल संवाददाता
दीर्घबहादुर सोडारी

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आफैले तोडेर बनाएका १० मन्त्रालयलाई घटाएर ७ मै झारेका छन । उनले गठबन्धनमा आवद्ध दलहरुको भागबण्डा मिलाउनका लागि असार १६ गते ७ वटा मन्त्रालयबाट, तोडेर १० मन्त्रालय पुगाएका थिए । 

दलहरुलाई भागबण्डाका लागि उनले सामाजिक विकास मन्त्रालयलाई फुटाएर, शिक्षा युवा तथा खेलकुद र स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय बनाएका थिए । भौतिक पुर्वाधार विकास मन्त्रालयलाई पनि फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको थियो । 

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई फुटाएर वन वातावरण तथा सहकारी मन्त्रालय र उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाईएको थियो । विहीबार उनले मन्त्रालय घटाएका मात्रै छैनन, घटाएका मन्त्रालयमा कार्यविभाजन पनि गरेका छन । उनले तीन महिनाको अवधीमा चार पटक मन्त्रीमण्डल हेरफेर गरेका हुन । 

विहीबार गरिएको कार्य विभाजनमा माओवादी केन्द्रका अक्कलबहादुर रावललाई आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी नेकपा माओवादी केन्द्रकी लक्ष्मी विक, भौतिक पूर्वाधार मन्त्रीमा नाउपाका कैलाश चौधरी, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नाउपाकै टिका थापा, सामाजिक विकास मन्त्रीमा माओवादीका ओमविक्रम भाट र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी समाजवादीकी माया पन्तलाई तोकिएको छ ।