Skip to main content

सुदूरपश्चिममा सामयीक कर संकलन सम्बन्धी अध्यादेश पारित, आजै राजपत्रमा प्रकाशित हुने

Submitted by editor on
शिवराज भट्ट
मन्त्रिपरिषद

धनगढी : सुदूरपश्चिमको मन्त्रिपरिषदले बजेट शून्यताको अवस्था अन्त्य गर्दै ‘सुदूरपश्चिम सामयीक कर संकलन सम्बन्धी अध्यादेश २०८१’ पारित गरेको छ । आज विहान साढे १० बजे बसेको मन्त्रीपरिषदको बैठकले अध्यादेश पास गरेको मुख्यमन्त्री कमल बहादुर शाहले बताए ।

मन्त्रीपरिषदले अध्यादेश पास गरेपछि प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालय पठाईएको छ । प्रदेश प्रमुख नजीर मियाले आजै उक्त अध्यादेश प्रमाणिकरण गरेर राजपत्रमा प्रकाशित गर्ने तयारी गरेका छन । प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि उक्त अध्यादेश ऐन सरहको कानून बन्नेछ भने आजैबाट प्रदेशभरी रोकिएको कर संकलनको कार्य सुचारु हुनेछ ।

तत्कालिन दीर्घ बहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि असार १ गते संसदमा प्रस्तुत भएको बजेट पास हुन नसकेपछि साउन १ गते देखि सुदूरपश्चिम प्रदेशमा बजेट शन्यताको अवस्था आएको थियो । 

बजेट पास नभएपछि प्रदेश सरकारले उठाउने यातायात कर, लिखित पास सम्बन्धी कर, स्थानीय तहहरुले लिने मनोरञ्जन कर लगायतको कर संकलन कार्य शून्य भएको थियो । जसकारण प्रदेश सरकारलाई दैनिक एक करोडको राजश्व घाटा भईरहेको थियो । 

प्रदेश सरकारले ल्याउन लागेको अध्यादेशमा गत आर्थिक वर्षकै करका दरहरु राखिएका छन । यसपाली प्रस्तुत भएको बजेटमा यातायात करमा केही संसोधन गरिएको भएपनि, बजेट पास नभएकाले तत्कालका लागि अध्यादेशमा पुरानै करका दरहरु समावेश गरिएको आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले बताए ।