Skip to main content

गेटा अस्पतालमा विरामी भर्ना सुरु, अब चौबिसै घण्टा फार्मेसी र ल्याब सेवा पनि

Submitted by editor on
अहिले विरामी भर्ना सुरु भएको छ भने सल्यक्रिया सेवा पनि सुचारु भएको छ । सुत्केरीको सल्यक्रिया र अरु सामान्य सल्यक्रियाहरु सुरु गरिएका छन । आईसीयु पुरै सेटअफ भईसकेका छैन । पोस्टअप र आईसीयु गरी ४० बेड तयार हुदैछन : डाक्टर विप्लव सोपकोटा
शिवराज भट्ट
 गेटा अस्पताल

धनगढी : कैलालीको गेटा अस्पतालमा शुक्रबारदेखि औपचारिक रुपमा विरामी भर्ना गरेर उपचार सुरु भएको छ । अस्पतालका निर्देशक डाक्टर विप्लव सापकोटाले शुक्रबार देखि औपचारिक रुपमा विरामी भर्ना सुरु गरिएको बताए ।

‘हामीले शुक्रबार देखि विरामी भर्ना सुरु गरेका छौं । अहिले महिला र पुरुष गरी दुई वार्ड सञ्चालन हुनेछन । एक सय बेड सञ्चालनका लागि भदौ मसान्त सम्मको समय लाग्न सक्छ’ उनले भने । 

गेटा अस्पताल एक सय शैयाको स्वीकृत अस्पताल हो । अहिले विरामी भर्ना सुरु भएको छ भने सल्यक्रिया सेवा पनि सुचारु भएको छ । सुत्केरीको सल्यक्रिया र अरु सामान्य सल्यक्रियाहरु सुरु गरिएका छन । ‘आईसीयु पुरै सेटअफ भईसकेका छैन । पोस्टअप र आईसीयु गरी ४० बेड तयार हुदैछन, आईसीयु सुचारु हुने वित्तिकै जटिल प्रकारका सल्यक्रिया पनि सुरु हुन्छन’ डाक्टर सापकोटाले भने ।

गेटा अस्पतालमा  फिजियोथेरापी, अल्ट्रासाउन्ड सेवासहित इन्डोस्कोपी र इको कार्डियोग्राफी सेवा समेत सुरू भएको छ । गेटा अस्पतालले प्रदेशमै पहिलो पटक स्तन क्यान्सरको उपचारसमेत सुरू गर्ने भएको छ । 

भदौबाट अस्पतालमा मेमोग्राफी अर्थात् स्तन क्यान्सरको उपचार सेवा सुरू हुने अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले बताए । गेटा अस्पताल तीन सय शैयामा चलाउने प्रस्ताव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको अस्पतालले जनाएको छ । मन्त्रालयले स्वीकृत दिने बित्तिकै तीन सय शैयामा अस्पताल चलाउने तयारी थालिएको हो । 

यसअघिका निर्देशक डाक्टर प्रमोद जोशीले २०८० को कार्तिक भीत्र एमसिएच क्लिनिक सुरु गर्ने, मंसिर महिनाभीत्र खोप सेवा र अन्तरंग सेवा सुरु गर्ने, पुषभीत्र ईमरजेन्सी र प्रसुती सेवा सुरु गर्ने कार्ययोजना पत्रकार सम्मेलन गरेर नै बताएका थिए । तर तोकिएको समयमा केही पनि भएको थिएन । 

२०८० को चैत महिनाभीत्र सल्यक्रिया सेवा र बैशाखभीत्र आईसीयु र एनआईसीयु सेवा सञ्चलान गर्ने कार्ययोजना पनि डाक्टर जोशीले सुनाएका थिए । उनको पालामा अस्पतालका खासै कामहरु भएन । भवन हस्तान्तरण नहुदै उपकरण खरिद गरेका जोशीले पछि विवाद आएपछि उपकरण खरिदको सूचना रद्ध गर्नु परेको थियो ।

त्यसपछि निर्देशक नियुक्त भएका डाक्टर विप्लव सापकोटा भने अस्पतालको सेवा विस्तारमा खटिएका छन । उनले मंगलबार देखि प्रसुती सेवा अन्तर्गत सिएस (सल्यक्रिया गरेर बच्चा जन्माउने) सेवा सुरु हुने बताए । 

गेटामा ६ सय सैया क्षमताको अस्पताल भवन, कलेज भवन र आवाशहरु गरी झण्डैै साढे ६ अर्वका संरचना निर्माण भईसकेका छन । कम्तीमा पनि ३ सय सैयाको अस्पताल सञ्चालन गरी एमविविएसको पढाई हुनुपर्ने आशा गरिएका बेला सय सैया मात्र सुरु हुँदा यस क्षेत्रका जनतामा निरासा भने छाएको छ ।
५० शैयाको अुनमतीमा मात्रै सञ्चालनमा रहेको सेती प्रादेशीक अस्पतालको भन्दा दोब्बर शैया क्षमताको अस्पतालको सुरुवाती चरण भने खासै सुखद रहेन । तर अहिले आएर सेवा थप हुन थालेपछि जनतामा आशा पलाउन थालेकोछ ।

गेटामा २०६६ साल देखि मेडिकल कलेजका पुर्वाधारहरु निर्माण हुन थालेका हुन । २०७८ साल देखि नै  मेडिकल शिक्षाको पढाई हुने लक्ष्य राखिएको भएपनि मेडिकल कलेज, प्रतिष्ठान वा मेडिकल विश्वविद्यालय के बनाउने ? भन्ने कुरामै रुमल्लिदा गेटा ओझेलमा परेको छ ।