Skip to main content

गेटा अस्पताल कार्तिकदेखि पूर्ण रुपमा सञ्चालनमा आउने (तस्विरहरु)

Submitted by editor on
विरामी भर्ना हुनका लागि ईमरजैन्सी सेवा प्रमुख हो । तर ईमरजैन्सीमा आएको ब्यक्तिलाई आईसीयुमा राख्नुपर्ने अवस्था आएमा, आईसीयु सेटअप भई नसकेकाले ईमरजैन्सी सेवा सुचारु गर्न नसकिएको निर्देशक विप्लव सापकोटाले बताए ।
शिवराज भट्ट
गेटा अस्पताल

धनगढी : कैलालीको गेटा अस्पताल यसैवर्षको कार्तिक देखि पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । अस्पताल प्रशासनले आईसीयु जडानको काम सकिने वित्तिकै ईमरजैन्सी वार्ड पनि सञ्चालन गर्ने र त्यसपछि अस्पतालको सबै सेवा सुचारु हुने जनाएको छ ।

‘अहिले हामीले विरामी भर्ना लिन थालेका छौं तर अहिलेसम्म भर्ना भएको छैन । हामीले ईन्डोर वार्डमा स्वास्थ्यकर्मी खटाई सकेका छौ’ अस्पतालका निर्देशक विप्लव सापकोटाले भने । गेटा अस्पतालमा ओपिडिका साथै भिडियो एक्सरे, एक्सरे, ईन्डोस्कोपी, फिजियोथेरापी, प्रयोगशाला र फार्मेसी सेवा सुचारु भईसकेका छन । प्रयोगशाला र फार्मेसी सेवा चौबिसै घण्टा सुरु भएको अस्पतालले जनाएको छ ।

विरामी भर्ना हुनका लागि ईमरजैन्सी सेवा प्रमुख हो । तर ईमरजैन्सीमा आएको ब्यक्तिलाई आईसीयुमा राख्नुपर्ने अवस्था आएमा, आईसीयु सेटअप भई नसकेकाले ईमरजैन्सी सेवा सुचारु गर्न नसकिएको निर्देशक सापकोटाले बताए । ‘ईमरजैन्सी वार्ड तयार छ, ईमरजैन्सी नजिकै अध्याधुनीक अप्रेशन थिएटर पनि सेटअप भईसक्यो’ उनले भने ।

आईसीयुको उपकरणहरुको खरिद सम्झौता भईसकेको छ । केही सामान आई पनि सकेको छ । भदौभरीमा आईसीयु सेटअप गर्ने तयारीमा अस्पताल लागेको छ । कैलालीको गेटा मेडिकल कलेजका लागि बनिरहेका पुर्वाधारभीत्र गत वर्ष सय शैयाको अस्पताल घोषणा भएको थियो ।

चिकित्सक सहित १४१ जनाको दरबन्दी पनि स्विकृत भयो । सरकारले काठमाण्डौंको ट्रमा सेन्टरको निर्देशक भईसकेका डाक्टर प्रमोद जोशीलाई निर्देशक बनाएर पठायो पनि  । एक वर्षसम्म सामान्य ओपिडि जाँच बाहेकका सेवा सुचारु हुन सकेनन भने त्यही बीचमा निर्देशक जोशी सरुवा मागेर संघीय राजधानीतिर हानिए । 

६ सय शैयाको अस्पताल सहितको मेडिकल कलेजको सपना बुनि रहेका सुदूरपश्चिमबासीले सय शैयाको अस्पतालमा चित्त भने बुुझाएका छैनन । फागुनको २१ गते डाक्टर विप्लव सापकोटालाई अस्पतालको जिम्मेवारी दिएपनि अहिले त्यहाँ सेवा विस्तारको क्रम सुरु भएको छ । ‘हामीले अस्पतालको काम तीन चरणमा गरिरहेका छौं’ उनले भने । ‘खानेपानीको समस्या समाधान भईदिएको भए चिकित्सकहरुको आवाशको ब्यवस्था हुन्थ्यो ।’

गेटा मेडिकल कलेजभीत्र झण्डै ७ अर्वका संरचना बनिसकेका छन । ६सय शैया क्षमताको अस्पताल भवन, कलेज भवन, चिकित्सक आवास, नर्सिङ आवास, विद्युत गृह, खानेपानी, पक्की सडक, प्रशासनीक भवन बनिसकेका छन तर त्यहाँ मेडिकल कलेज बन्ने की स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने की अवथा मेडिकल विश्वविद्यालय बन्ने ? कुनै टुंगो छैन । 

यी तीन मध्ये जे बनाएपनि अस्पताल बनाउनै पर्ने भएकाले पनि अहिले पुर्वाधार निर्माण समितिले अस्पताललाई ६ सय शैयाको अस्पताल भवन सहितका ७ वटा भवनहरु प्रयोग गर्न अनुमति दिएको छ । ‘हामीले अस्पताल भवन सहितका ६भवन प्रयोग गर्न अनुमति पाएका छँै’ निर्देशक सापकोटाले भने ।

स्विकृत १४१ को दरबन्दीमा अहिले ७१ जना मात्रै कार्यरत छन । त्यसमा पनि स्थाई स्वास्थ्यकर्मी र कर्मचारीको संख्या २३ जना मात्रै रहेको छ । खानेपानीको ट्याकी बनेपनि नयाँ निर्माण भएका चिकित्सक आवासहरुमा पानी आपुर्ती नभएकाले चिकित्सकहरु आउन मानि रहेका छैनन । अझ अरु अस्पतालमा अतिरिक्त भत्ता खाईरहेका चिकित्सकहरु गेटामा सरकारी तलब मात्रै छ भने पनि नआउनाले सेवा सञ्चालनमा ढिलाई भईरहेको छ ।