Skip to main content

धनगढीमा डा.जोशीको पहलमा ‘प्रकृति प्रेमीको आँखामा सुदूरपश्चिम’ कार्यक्रम सम्पन्न

Submitted by editor on
ईबिगुल संवाददाता
कार्यक्रम

धनगढीः सुदूरपश्चिम प्रदेशका स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशीको पहलमा धनगढीमा भएको प्रकृतिप्रेमीको आँखामा सुदूरपश्चिम कार्यक्रम सम्पन्न भएको छ।

मंगलवार प्रदेश सभाको कार्यालयमा भएको प्रकृतिप्रेमीको आँखामा सुदूरपश्चिम कार्यक्रम सम्पन्न भएको हो। सो कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीले पर्यटन क्षेत्रमार्फत् विकास केन्द्रित काम गर्ने बताएका छन्। उनले चाँडै विज्ञलाई पर्यटन फोकल पर्सन बनाउने समेत बताए।

सो अवसरमा बोल्दै सो मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले सुदूरपश्चिम प्रदेशमा माउन्टेन फ्लाइट, केवुलकार र इको पर्यटनमा पनि ध्यान दिन जरुरी रहेको बताएका थिए। कार्यक्रममा अधिकांश सहभागीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट पर्यटनलाई हटाएर अर्को मन्त्रालय बनाउनु पर्नेमा जोड दिएका थिए। प्रदेश सभा सदस्य डा. जोशी, एमालेका प्रमुख सचेतक चक्र मल्ल, पर्यटन व्यवसायी मायाप्रकाश भट्ट लगायतले अहिलेको अवस्थामै मन्त्रालय रहँदा पर्यटन क्षेत्रको विकास नहुने बताएका थिए।  

सो कार्यक्रममा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिमलाई देव भूमी, प्राकृतिक सुन्दरता, संस्कृति लगायतको क्षेत्रका रुपमा परिचित बनाउने गरेर काम गर्न जरुरी भएको बताए। नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता खगराज भट्टले राजीतिज्ञ र कर्मचारी योजनाका साथ जिम्मेवार र इमान्दार भए मात्र सुदूरपश्चिमको मात्र होइन मुलुकै पर्यटन विकास हुने बताए।

सो अवसरमा प्रदेशका पूर्वमन्त्री सन्तोष शर्मा थापा, अक्कल रावल, नरेश शाही, टीका थापा लगायतले सुदूरपश्चिमको पर्यटन क्षेत्रको विकासका लागि सबै जुट्नु पर्ने , सके राम्रो गर्ने नसके विगार्न नहुने धारणा राखेका थिए। सो अवसरमा पर्यटन क्षेत्रको विकासमा गहिरो रुचि राख्ने क्याप्टेन वेद उप्रतीले कर्णाली र मोहनामा डल्फिन सेन्टर खप्तडमा स्कि खेल्ने ठाउँ बनाएर, शुक्लाफाँटामा फरक तरिकाले बाह्रसिगे देखाएर रोजगारी सृजना गर्न सकिने सुझाव दिए।  

व्यवसायी ओम विष्टले समुद्रमा पाइने डल्फिन हाम्रो नदीमा भेटिन सौभाग्य भए पनि बाह्रै महिना उनीहरुलाई राख्न सक्ने वातावरण कसरी बनाउने सोच्न जरुरी भएको बताए। पर्यटनकर्मी गणेश मगरले पर्यटकीय क्षेत्रको प्रचारप्रसार नहुँनु, बाटो ,बस्ने ठाउँ, शौचालय, नक्सा अभाव, विदेशीलाई महंगो हवाई टिकट, फोटो, भिडियो खिच्नका लागि ड्रोन उडाउने अनुमति लिने झंझट पनि सुदूरपश्चिम क्षेत्रको पर्यटकीय क्षेत्रको विकासका लागि बाधक भएको बताए।

सो अवसरमा धेरैले खप्तड क्षेत्रको पर्यटन विकास मात्र गर्न सकियोे भने मात्र वरपरका पर्यटकीय क्षेत्रको स्वभाविकरुपमा विकास हुने बताए। वनस्पति अध्ययन केन्द्र, कैलालीका प्रमुख गंगादत्त भट्टले सुदूरपश्चिम जडीबुटी र वनस्पतिका क्षेत्रमा भर्जिन रहेको चर्चा गर्दे यसको उपयोग गर्नुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य कर्ण कुँवर, पर्यटन व्यवसायी प्रकाश भट्ट, लक्ष्मीनारायण चौधरी, दिनेशराज भण्डारी, पदमविक्रम सिंह, प्रमोद पाठक, रविन पन्त, तपेन्द्र रावल शिक्षासेवी सीताराम जोशी लगायतको सहभागिता रहेको थियो।