Skip to main content

धनगढी उपमहानगरको यात्रुहरुलाई सन्देश, ‘सडकमा फोहर नफालौं है’

Submitted by editor on
उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको ६ लेन सडकको प्रवेशद्वार नजिकै धनगढी प्रवेश गर्ने सार्वजनिक सवारीसाधनहरूलाइ रोकेर उपमहानगरपालिका क्षेत्रभित्र गुट्खा, चकलेटका कभर, पानीका बोतललगायत अन्य फोहर जथाभावी सडकमा नफालिदिन आग्रह गरिरहेको हो ।
ईबिगुल संवाददाता
सन्देश

धनगढी : विद्यालयहरुमा ‘हाम्रो धनगढी सफा धनगढी’ को सफलता पछि धनगढी उपमहनगरले अब धनगढी आउने यात्रुहरुलाई पनि जथाभावि फोहर नफाल्न सन्देश दिन थालेको छ । धनगढीको चोक चोकमा माईक नै लगेर यात्रुबाहक सवारी साधन उभिएका बेला यस्तो सन्देश दिन थालिएको उपमहानगरले जनाएको छ ।

छोटो तथा लामो दुरीका यात्रुवाहक बसमा सवार यात्रुहरुलाई उपमहानगरपालिकाले दैनिक रुपमा सन्देश दिन थालेको छ । धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी उपमहानगरले निर्माण गरेको स्वागत गेटबाटै धनगढी प्रवेश गर्ने छोटो तथा लामो दुरीमा सवार यात्रुहरुलाई जथाभावी फोहर नफाल्न सचेत गराउने काम भइरहेको हो । 

ट्राफिक प्रहरीको सहयोगमा धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको ६ लेन सडकको प्रवेशद्वार नजिकै धनगढी प्रवेश गर्ने सार्वजनिक सवारीसाधनहरूलाइ रोकेर उपमहानगरपालिका क्षेत्रभित्र गुट्खा, चकलेटका कभर, पानीका बोतललगायत अन्य फोहर जथाभावी सडकमा नफालिदिन आग्रह गरिरहेको हो ।

धनगढीमा यसअघि जथाभावी फोहर फाल्ने विभिन्न व्यक्ति एवं संघसंस्थालाई उपमहानगरपालिकाले जरिबाना समेत गराइसकेको छ । धनगढीको कुनै पनि स्थानमा फोहर फाल्न निधेष गरिएको छ ।

सार्वजनिक स्थानहरुमा राखिएका डस्टबिनहरुमा मात्र फोहर फाल्न उपमहानगरपालिकाले सबैमा आग्रह गर्दै आएको छ । कुहिने र नकुहिने फोहरका लागि छुट्टाछुट्टै डस्टबिन समेत राखिएको छ । धनगढीलाई सफा सहरको रुपमा विकास गर्न जथाभावी फोहर फाल्ने बानीमा सुधार ल्याउन उपमहानगरले विभिन्न सचेतनामुलक कार्यक्रमको समेत आयोजना गर्दै आएको छ । 

उपमहानगरपालिकाभित्रका १९ वटै वडाभित्र हरेक टोल तथा गाउँमा फोहरको उचित व्यवस्थापनका लागि महिला समुह नै बनाएर टोल तथा गाउँघर सफा गर्ने काम हुँदै आएको छ । उपमहानगरपालिकाले धनगढीमा प्लाष्टिक विक्री र प्रयोगमा समेत यसअघि नै प्रतिबन्ध लगाइसकेको छ ।

उपमहानगरले धनगढीका विद्यालयहरुमा विद्यार्थीहरुबाटै फोहर नगर्ने अभियान नै चलाएको थियो । विद्यालय वरिपरिको ५ सय मिटरको परिधिमा विद्यार्थीहरुले सरसफाई गर्दै आएका छन । अझ पनि सवारी साधनको झ्यालबाट सडकमा फोहर फाल्ने गरिएको देखेपछि उपमहानगरले जनचतनामूलक सन्देश कार्यक्रम सुरु गरेको हो ।