Skip to main content

गहृमन्त्री लेखकको दाबी, ‘काग्रेस र एमालेको विचमा कुनै तिक्तता छैन’

Submitted by editor on
‘काँग्रेस र एमालेको समिकरणमा अत्यन्त राम्रो सौहार्दता छ । अत्यन्त सरल र अत्यन्त राम्रो वातावरण छ । कुनै खालको ‘कन्फ्युजन’ र अप्ठेरो खालको समस्या छैन । यसमा कसैले अप्ठेरो पार्न खोजेपनि पर्न सक्ने सम्भावना छैन’
शिवराज भट्ट
रमेश लेखक

धनगढी : गृहमन्त्री रमेश लेखकले कुनै पार्टीको चाहनाले मात्रै संविधान संसोधन नहुने बताउदै संविधान संसोधनका लागि सबै दलहरु एक भएर जाने बताएका छन । गृहमन्त्री भएपछि पहिलोपटक गृह जिल्ला कञ्चनपुर जानेक्रममा धनगढी विमानस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन ।

‘संविधान संसोधन कुनै पार्टीको चाहना र ईच्छाले हुने कुरा होईन । यसका चरणहरु छन । पहिलो चरणमा संविधानको समिक्षा गर्ने, ९÷१० वर्षसम्म हामीले प्रयोग गरेको संविधानको समिक्षा गर्छौं, समिक्षाका क्रममा के के कुरा राम्रा भए, काँ काँ नेर जटिलता आयो त्यो हेर्छौं, त्यसपछि ती विषयमाथि दलहरुसँग संवाद हुन्छ । सबैदलहरुको बीचमा सहमति खोेजेर मात्र संविधानको संसोधन हुन्छ’ उनले भने ।

गृहमन्त्री लेखकले काँग्रेस र एमालेको मिलन देशको विशिष्ट परिस्थितिमा मात्र भएको दाबी गरे । ‘एमाले र काँग्रेसको मिलन देशमा विशिष्ट परिस्थिति आउदा मात्र भएको छ । शान्ति प्रकृयाका बेला, राजाले निरंकुशता लगाएका बेला काँग्रेस एमाले मिलेर काम गरे । मिलेर नै हामीले अन्तरिम संविधान बनायौं, मिलेर अहिलेको संविधान बनायौं’ उनले भने । उनले काँग्रेस र एमाले मिलेर सुखद परिणाम निकालेको इतिहासले पुष्टि गरेको बताए । 

गृहमन्त्री लेखकले अहिले काँग्रेस र एमालेका बीचमा एकदमै सौहार्दता रहेको दाबी गरे । ‘गृहसचिवका लागि प्रधानमन्त्री र गृहमन्त्रीका बीचमा विवाद छ भनेर बाहिर हल्ला फैलाईएको छ । तर त्यो सत्य होईन । मेरो मन्त्रालयका सचिव मुख्य सचिव भए, उहाँको ठाउँमा सचिव नियुक्त गर्नका लागि क्याबिनेट बस्नुपर्छ । क्याबिनेट बसेको छैन, क्याबिनेट बसेको दिन गृहसचिव नियुक्त हुन्छन’ मन्त्री लेखकले भने ।

उनले कसैले काँग्रेस र एमालेबीचको सौहार्दतामा अप्ठेरो पार्न खोजेपनि उ सफल नहुने तर्क गरे । ‘काँग्रेस र एमालेको समिकरणमा अत्यन्त राम्रो सौहार्दता छ । अत्यन्त सरल र अत्यन्त राम्रो वातावरण छ । कुनै खालको ‘कन्फ्युजन’ र अप्ठेरो खालको समस्या छैन । यसमा कसैले अप्ठेरो पार्न खोजेपनि पर्न सक्ने सम्भावना छैन’ मन्त्री लेखकले भने ।

उनले काँग्रेस र एमालेको समिकरण बनेपछि देशमा स्थाइत्वको विश्वास बढेको दाबी गरे । ‘संघमा सरकार परिवर्तन भईरहने समस्या थियो । संघमा सरकार परिवर्नत हुने वित्तिकै प्रदेशहरु अस्थिर हुने समस्या आई रहेको थियो । त्यसलाई समाधान गर्नका लागि पनि काँग्रेस र एमालेको समिकरण बनेको हो । अहिले स्थाईत्वका लागि विश्वासको वातावरण बन्दै गएको छ’ उनले भने ।

गृहमन्त्री लेखक तीन दिनसम्म कैलाली र कञ्चनपुरमा रहने छन । उनले पार्टी कार्यकर्तासँग भेटघाट र बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।

बुधबार गृहमन्त्री लेखकले संघीय प्रहरी कार्यालय महेन्द्रनगरको भवन उद्घाटन त्यसपछि, इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीको भवन उद्घाटन र धनगढीमा प्रहरी गण भवन तथा पेट्रोल पम्प उद्घाटनको कार्यक्रम तय भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।