Skip to main content

बझाङमा दुई दिन लगाएर हटाईयो सुख्खा पहिरो, जयपृथ्वी राजमार्ग सुचारु

Submitted by editor on
ईबिगुल संवाददाता
सुख्खा पहिरो

धनगढीः बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ जालीबगरमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको जयपृथ्वी राजमार्ग २ दिनपछि सूचारु भएको छ ।

अवरुद्ध सडक खुलाउन शुक्रबार बिहानबाटै पहिरो पन्छाउन सुरु गरिएको थियो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी युवराज भण्डारीलले पहिरो ठूलो भएकाले राजमार्ग खुलाउन समय लागेको बताए । ‘हिजो निरन्तर ढुंगामुढा झरिरहेकाले पहिरो पन्छाउन सकिएन, आज बिहानैबाट डोजरको सहायताले पहिरो पन्छाईयो, यातायातका साधन चल्न सुरु भइसकेको छ’ डिएसपी भण्डारीले भने । ‘ठूलै पहिरो भएकाले बाटो खुल्न समय लागेको हो ।’

पहिरो झर्न नरोकिएपछि स्थानीय प्रशासनले सो क्षेत्र नजिक जान रोक लगाएको छ । अहिले पूर्णरुपमा राजमार्ग सूचारु भइसकेको उनले बताए । पहिरो खसेका कारण बिहीबार बिहान ७ बजेदेखि बन्द भएको जयपृथ्वी राजमार्ग आज दिउँसोबाट खुलेको हो । दुईवटा मेसिन लगाएर पहिरो हटाउने काम भएको थियो ।

बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र सडक दैनिक जसो अवरुद्ध हुँदा यात्रुले निकै सास्ती खेप्नु परेको छ । जिल्ला बाहिर लैजानुपर्ने बिरामी, बालबालिका, अशक्त, बालबालिका र जेष्ठनागरिकको यात्रा कष्टकर हुने गरेको छ । साउन महिना यता मात्रै जयपृथ्वी राजमार्ग ४० पटक अवरुद्ध भइसकेको छ । जयपृथ्वी राजमार्ग दिनहुँजसो अवरुद्ध हुन थालेको छ ।

पहिरोले राजमार्ग छेउ गाडिएका विद्युत प्रशारण लाइनमा क्षति हुँदा विद्युतसेवा समेत अवरुद्ध हुने गरेको छ । साउनयता मात्रै जयपृथ्वी राजमार्ग ४० पटक अवरुद्ध भइसकेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुँइकेलले बताएका छन् ।