Skip to main content

विकासका काममा खटिने निर्देशन सहित एमाले बाजुराको आचारसंहिता जारी

Submitted by editor on
जेष्ठमा सम्पन्न पार्टीको आठौ जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कमिटीको भदौ १३ सम्पन्न दोस्रो बैठकबाट आचारसंहिता जारी गरिएको हो ।
ईबिगुल संवाददाता
आचारसंहिता जारी

बाजुरा : नेकपा एमाले बाजुराले पार्टी नेता कार्यकर्ताका लागि २१ बुँदे आचारसंहिता जारी गरेको छ । पार्टी अनुशासन, संगठनको मर्यादा र व्यक्तिगत आचरण सुधारलाई ध्यानमा राखेर पार्टी जिल्ला कमिटीले आचारसंहिता जारी गरेको अध्यक्ष लालबहादुर ओलीले बताएका छन् । 

पार्टी केन्द्रीय कमिटीको विधानको अधीनमा रहेर नेता, कार्यकर्ता र सबै संरचनाका कमिटीहरुले पालना गर्नेगरि आचारसंहिता जारी गरिएको छ । सम्पूर्ण सदस्यहरुले पालना गर्न हुने र नहुने २१ बुँदे आचारसंहिता जारी गरिएको सचिव काशी विकले जानकारी दिए ।  

गएको जेष्ठमा सम्पन्न पार्टीको आठौ जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कमिटीको भदौ १३ सम्पन्न दोस्रो बैठकबाट आचारसंहिता जारी गरिएको हो । जारी गरिएको आचारसंहिता कार्यान्वयन भए, नभएको अनुगमन गरिने र सबै पार्टी कमिटीमा आवद्ध, सदस्य पदाधिकारी, नेताहरुले पालना गर्नुपर्ने जिल्ला कमिटीका तर्फबाट निर्देशन गरिएको छ । 

जिल्ला इन्चार्ज सहीतका नेताहरुको पराशर्ममा पार्टी कमिटीको बैठकबाटै आचारसंहिता र नियम पालनाको निर्णय गरिएको छ । अध्यक्षमा लालबहादुर ओली आइसकेपछि पहिलो पटक प्रत्येक नेता कार्यकर्ताका लागि लिखित आचारसंहिता पालनाको निर्देशन गरिएको हो । 
पार्टीका सदस्य तथा कार्यकर्ताको व्यवहार शुद्धिकरणका लागि १० बुँदे नियम बनाएको छ । जसमा योजनामा स्रोतको हिनामिना गरेको पाइएमा सम्बन्धित निकायको ध्यानाकर्षण गर्न प्रमाण सहित पार्टीमा लिखित जानकारी दिने र कार्वाही एवं असुल–उपरको लागि पार्टीले सम्बन्धित निकायमा पहल गर्ने भनिएको छ । 

पार्टीका समर्थक, शुभेच्छुक कर्मचारी एवम् शिक्षकले आफूले प्रदान गर्ने सेवा प्रभावकारी बनाउन सहजीकरण गर्ने, उत्कृष्ट काम गर्ने शिक्षक, कर्मचारी र नागरिक संस्थाको सदस्य, कर्मचारी र वर्षमा उत्कृष्ट काम गर्ने संगठित सदस्य, भ्रातृ तथा जनवर्गीय संगठनका सदस्यलाई मूल्यांकनका आधारमा पुरस्कृत गर्ने नियम बनाएको छ । 

पार्टी विधान, नीति, निर्देशन विपरित क्रियाकलापमा कमिटीका पदाधिकारी, सदस्य वा पार्टीबाट निर्वाचित जनप्रतिनिधि संलग्न भएको पाइएमा आवश्यक कार्वाहीका लागि माथिल्लो कमिटीमा प्रेषित गर्ने, प्रचलित ऐन, कानुनको उल्लंघनमा संलग्न पार्टीका नेता तथा कार्यकर्ता आफैले सम्बन्धित नियकायमा प्रमाण पेश गरी सफाई लिनुपर्ने छ । 

यस्तो छ आचारसंहिता :
१) पार्टीका सिद्धान्त, नीति, कार्यक्रम र निर्णयहरु अनिवार्य पालना गर्नुपर्दछ । पार्टी विधान, नियमावली, माथिल्लो कमिटीका निर्देशनहरु अक्षरशः पालना गर्नुपर्दछ ।
२) आफ्ना मत सम्बन्धित पार्टी कमिटीमा स्पष्ट, अनुशासित र सभ्यतापूर्वक राख्नुपर्दछ । समयको मूल्य स्थापित गर्दै यसको पालनामा दृढ रहनुपर्दछ । 
३) आलोचना र आत्मालोचनालाई आत्म–शुद्धिकरण प्रक्रियाको रुपमा स्वीकार गर्नुपर्दछ । अरुबाट प्राप्त सकारात्मक सिकाइ र पृष्ठपोषण सहज रुपमा ग्रहण गर्नुपर्छ ।
४) लैङ्गिक, जातीय, धार्मिक, साम्प्रदायिक, क्षेत्रिय विषयमा निष्पक्ष एवम् समानतापूर्ण व्यवहार गर्नुपर्छ ।
५) समुदायमा संचालन हुने विकास कार्यको गुणस्तर कायम गर्न सक्रिय सहभागिता जनाउनुपर्छ । सकारात्मक सामुदायिक रुपान्तरणको पक्षमा अथक पैरवी गर्नुपर्दछ । 
६) पार्टी पद्दती अनुसारको गोप्यता कायम गर्नुपर्दछ ।
७) पार्टीका मूल्य र मान्यतामा दृढ रहँदै  जनहितका सामुदायिक विकास कार्यमा कुसलतापूर्ण र परिस्थितिजन्य सहकार्य गर्नुुपर्दछ ।
८) बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा समाजका कमजोर समुदाय तथा वर्गप्रति आदर, कदर गर्नका साथै व्यवहारिक हुनुपर्दछ । महिला, बालबालिका, अपांग, यौनिक अल्पसंख्यकको पक्षमा न्यायिक पैरवी गर्नुपर्दछ । जातीय विभेद, महिनावारी विभेद, बाल विवाह, महिला हिंसा उन्मुलनको अभियानमा अडिनुपर्दछ । 
९) यौन शोषण तथा यौन दुव्र्यवहारजन्य गतिविधिमा संलग्न हुनुहुँदैन र यस्ता गतिविधिमा संलग्न व्यक्तिप्रति शून्य सहनशीलता व्यवहार अबलम्बन गर्नुपर्दछ ।   
१०) आफ्नो परिभाषित जिम्मेवारीमा केन्द्रित रहि सृजनात्मक काममा गुणस्तरीय समय लगानी गरी प्रतिस्पर्धामा आफ्नो श्रेष्ठता सावित गर्नुपर्छ ।
११) पार्टी नेता तथा कार्यकर्तालाई  आदर, सम्मान र माया तथा मित्रवत व्यवहार गर्नुपर्र्दछ । 
१२) समुदाय, राजनीतिक कार्यकर्ता, समर्थक बीचका विवादमा निष्पक्षता, न्यायिक समर्थन र निर्णयको पक्षपोषण गर्नुपर्छ ।
१३) जनहित, सामाजिक रुपान्तरण, क्रान्तिको महत्व हृदयङ्गम गरी पार्टीको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ । 
१४) द्वन्द्वात्मक विश्वदृष्टिकोण र वर्ग पक्षधरतालाई पालना गर्दै श्रमजीवी वर्गको पक्षमा लगनशील रहनुपर्दछ । 
१५) पार्टी सामग्री लगायत सन्दर्भ विषयहरुमा अध्ययनशील, आफ्नो श्रम तथा कामलाई माया गर्ने तथा परिश्रमी बन्ने, स्वावलम्बी चिन्तन र कार्यपद्दतीलाई जीवनशैली बनाउनु पर्दछ ।
१६) आम्दानीका साथै खर्च गर्ने कलामा निपूर्णता पाप्त गरी दैनिक खर्चमा मितव्ययी बन्नुपर्दछ । 
१७) बाजुरा जिल्लामा राजनीतिक सद्भाव र सामाजिक सदाचार कायम गर्न समझदारी कायम गर्दै सक्दो योगदान गर्नुपर्दछ ।
१८) समुदायमा हुने आपराधिक क्रियाकलापहरुको निष्पक्ष अनुसन्धान गरी न्यायिक निर्णय गर्न स्थानीय प्रशासन र न्यायिक निकायलाई सहजीकरण गर्नुपर्दछ । 
१९) पार्टीको जिम्मेवारी र आर्थिक दायित्व समयमै पूरा गर्नुपर्दछ । सुशासनको पक्षमा दृढ र एकमत हुनुपर्दछ । 
२०) आफ्नो समुदायमा सामुदायिक विकास–निर्माण, सामाजिक रुपान्तरण, परिवर्तनका कार्यको अगुवाई गर्नुपर्दछ ।
२१) प्राकृतिक प्रकोपबाट प्रभावित, अप्ठ्यारोमा परेका, असहायहरुको उद्धार, स्वास्थ्योपचार, राहत, पुनस्र्थापना कार्यको नेतृत्व गर्नुपर्दछ ।    

पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरुले गर्न नहुने आचारसंहिता : 
१) जनतालाई लाभको झुटा आश्वासन दिनुहुँदैन । 
२) समुदायका बीच हुने आपसी द्वन्द्व÷असमझदारीमा दलीय राजनीतिक स्वार्थ मिसाएर विवाद बढाउनु हुँदैन । 
३) पार्टी हित विपरित आन्तरिक गुटबन्दी गर्नु हुँदैन । 
४) क्रान्ति र सामाजिक रुपान्तरणका लागि उपलब्ध आफ्नो अमूल्य समय अरुलाई गाली गर्न खर्चनु हुँदैन ।
५) जनताको चीज–वस्तु जबरजस्ती उपभोग गर्नुहुँदैन ।
६) सार्वजनिक सम्पत्ति हिनामिना गर्नु, गराउनु हुँदैन ।
७) जातीय विभेद, बालविवाह, वहुविवाह, लैङ्गिक विभेद जस्ता कानुनी रुपमा दण्डनीय र सामाजिक रुपमा आपराधिक क्रियाकलापमा संलग्न हुनुहुँदैन । 
८) पार्टीका आन्तरिक लोकतान्त्रिक अभ्यासका क्रममा पक्ष वा विपक्षमा मत जाहेर गरेकै आधारमा  नेता, कार्यकर्ता बीच पूर्वाग्रही व्यवहार गर्नुहुँदैन ।
९) विपक्षी राजनीतिक दललाई मतदान गरेकै आधारमा जनतासँग विभेदकारी व्यवहार गर्नुहँदैन ।
१०) मदिरा लगायत नसालु पदार्थ सेवन गरी वा नगरी सार्वजनिक शान्ति खलबल्याउने, जुवा–तासमा सम्पत्ति नोक्सान गर्ने जस्ता कार्य गर्नुहुँदैन ।
११) पार्टी पद्दती विपरित पार्टीका निर्णयहरु सार्वजनिक गर्नुहुँदैन ।
१२) राजनैतिक पहुँचका आधारमा अनावश्यक लाभ लिनुहुँदैन ।
१३) सामुदायिक विकास तथा जनहितका कार्य विरुद्ध जनता बीच भेदभाव गर्नुहुँदैन । सामाजिक विद्वेष फैलाउने कार्यमा संलग्न हुनुहँदैन । 
१४) कानुनले वन्देज लगाएका कुनै पनि कार्यमा संलग्न हुनुहँुदैन । 
१५) सार्वजनिक हितविरुद्ध हुनेगरी कुनै धर्म, जाति, सम्प्रदाय, क्षेत्रमा केन्द्रीत हुनुहँुदैन । 
१६) पार्टी पद्धती, नीति, निर्णय, पार्टी नेता र कार्यकर्ताको अनावश्यक बद्ख्वाईं गर्ने वा नकारात्मक टिप्पणी सार्वजनिक गर्नुहुँदैन । 
१७) पार्टी जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु, नगर÷गाउँ कमिटीका पदाधिकारीहरु कुनै पनि सार्वजनिक निर्माण कार्यको उपभोक्ता समितिमा रहनुहुँदैन ।
१८) कुनै पनि भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न हुनुहुँदैन । 
१९) पार्टीको पदीय जिम्मेवारीको दुरुपयोग गरी कुनै पनि सरकारी निकाय तथा गैर सरकारी संस्थाबाट अनावश्यक लाभ लिनु हुँदैन ।  
२०) तत्कालको राजनीतिक लाभका लागि समुदाय र जनतासँग कुनै पनि लेनदेनको मोलमोलाई गर्नुहुँदैन । 
२१) पार्टी हित विपरित कुनै पनि कार्य गर्नुहुँदैन ।