Skip to main content

सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री रावल, राष्ट्रपति पौडेलद्वारा सम्मानीत

Submitted by editor on
ईबिगुल संवाददाता
सम्मान तथा अभिनन्दन

धनगढी : सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा साहित्यकार राजेन्द्र सिंह रावललाई अभिनन्दन गरिएको छ । शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले रावललाई सम्मान तथा अभिनन्दन गरेका हुन ।

सुदूरपश्चिम र कर्णालीको भाषा, साहित्य र सङ्गीतलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ‘स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक उत्सव’ को आयोजना गरिएको थियो । सोही कार्यक्रममा साहित्यकार÷इतिहासकार रावललाई अभिनन्दन गरिएको आयोजक संस्था सांस्कृतिक समाज नेपालका अध्यक्ष तथा कलाकार रामप्रसाद अवस्थीले जानकारी दिए ।

कार्यक्रममा विभिन्न विधाबाट पहिचान बनाउन सफल सुदूरपश्चिम र कर्णालीका अन्य स्रष्टाहरूलाई पनि अभिनन्दन गरिएको थियो । नेकपा एमालेका पोलिटब्युरो सदस्य समेत रहेका रावलको अंग्रेजी भाषामा लेखिएको ‘डोटी राज्यको मध्यकालीन इतिहास’ नामक पुस्तक चर्चित छ ।

यसको नेपाली भर्सन समेत प्रकाशनको तयारीमा छ । यो पुस्तकले छिमेकी देश भारतको उत्तराखण्ड राज्यमा पनि चर्चा बटुलेको छ । यस्तै उनको ‘द इकोज पावर अफ प्यासन’ अर्को कविता संग्रह हो । रावलले सयौंको संख्यामा बिभिन्न जर्नलहरुमा लेख प्रकाशित गराइसकेका छन् । केही कृति प्रकाशनको तयारीमा छन् ।

यस्तै चलचित्र क्षेत्रबाट बिराज भट्ट, खेलकुदबाट दीपक विष्ट, लाइभ देउडाबाट नेत्रराज शाही, पर्दा पछाडिका नायकका रुपमा निर्देशक भीम थापा, पत्रकारिता क्षेत्रबाट वसन्तप्रताप सिंह, गायन क्षेत्रबाट सुदूरपश्चिमका लाल बहादुर धामी र कर्णालीका टिका पुन तथा सुरेश शाही सम्मानित भएका छन । मौलिक लोक संगित बारे कलम चलाएको भन्दै पत्रकार भानुभक्त आचार्य र कमल प्रसाद चौलागाईलाई पनि सम्मान गरिएको छ ।