Skip to main content

सहकारी प्रकरणमा सरकार कानुनअनुसार अघि बढ्छ : उप्रधानमन्त्री सिंह

Submitted by editor on
ईबिगुल संवाददाता
प्रकाशमान सिंह

धनगढी : उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सहकारी प्रकरणमा सरकार कानुनअनुसार अघि बढ्ने बताएका छन् । उनले सोमबार मात्र संसदीय समितिले प्रतिवेदन बुझाएकाले प्रतिवेदनमा उल्लेख गरेअनुसार कानुनी कारबाही अघि बढ्ने बताए ।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले संसदीय समितिले गहिरो अध्ययन गरेर प्रतिवेदन ल्याएको बताउँदै त्यसअनुसार नै कानुनी कारबाही अघि बढ्ने बताएका हुन् ।

मुलुकको स्थायित्व र विकासका लागि दुई ठूला दल मिलेर सरकार बनेको उपप्रधानमन्त्री सिंहको भनाइ छ । उनले भने, ‘पटक–पटक सरकार परिवर्तन भइरहदा अर्थतन्त्र र जनतामा निराशा देखिएको छ, त्यसलाई चिर्न एमाले र कांग्रेस मिल्यौँ। अब यो गठबन्धनले पुरै कार्यकाल सरकार सञ्चालन गर्छ ।’
देशमा व्यवस्था र अवस्थामा धेरै परिवर्तन भएको बताउँदै उनले केही दलविरोधिहरुले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको गलत प्रचार गरिरहेको आरोप लगाए ।

उनले नेपाली कांग्रेस एकजुट रहेको र अहिले कांग्रेस सत्ता सञ्चालनसँगै संगठन विस्तारमा पनि देशभर सक्रिय भएर लागेको बताए ।
उपप्रधानमन्त्री सिंह धनगढी उपमहानगरपालिकाको दशौँ स्थापना दिवसमा प्रमुख अतिथिका रुपमा सहभागी हुन मंगलबार बिहान धनगढी आएका हुन् ।

उनले स्थापना दिवससँगै धनगढीमा पार्क निर्माणको शिलान्यास, कार्यकर्ता भेटघाट गरेर आजै बेलुका काठमाडौँ फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।