Skip to main content

‘स्याटेलाईट सिटी’ निर्माण गरिदिन शहरी विकासमन्त्री सिंहलाई मेयर हमालको अनुरोध

Submitted by editor on
‘स्याटेलाईट’ सिटी अर्थात् बस्ती विकास, नयाँ बसपार्क निर्माण, १ देखि १९ वडासम्मका ८५ किलोमिटर रिङरोड निर्माण, धनगढी–११ मा जग्गा विकास कार्यक्रम र सिटी हल सञ्चालन गर्न आवश्यक पूर्वाधार जडानका लागि बजेट माग गरिएको छ ।
ईबिगुल संवाददाता
गोपाल हमाल

धनगढी : धनगढीका मेयर गोपाल हमालले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई स्याटेलाईट सीटि शहर निर्माणका लागि बजेट विनियोजन गर्न अनुरोध गरेका छन । धनगढी उपमहानगरपालिकाको १० औँ स्थापना दिवस समारोहका प्रमुख अतिथिसमेत रहेका मन्त्री सिंहलाई मेयर हमालले स्याटेलाईट सीटि सहितका ५ योजना समेटिएको ज्ञापन बुझाएका हुन ।

नगर प्रमुख हमालले धनगढीलाई ‘स्याटेलाईट’ सिटी अर्थात् बस्ती विकासको योजनाका बजेट विनियोजन, धनगढीमा नयाँ बसपार्क निर्माणका लागि बजेट, धनगढी उपमहानगरपालिकाको १ देखि १९ वडासम्मका ८५ किलोमिटर रिङरोड निर्माणका लागि बजेट, धनगढी–११ मा जग्गा विकास कार्यक्रमका लागि बजेट र धनगढी–८ मा निर्माण भएको सिटी हल सञ्चालनका आवश्यक पूर्वाधार जडानका लागि बजेट विनियोजन गर्न माग गरेका छन् ।

धनगढीमा २०७९ सालमा निर्माणको काम पूरा भएको सिटी हलमा आवश्यक पूर्वाधारको अभावले सञ्चालनमा आएको छैन । नगर प्रमुख हमालले उपकरण तथा पूर्वाधार जडान नभएकाले सिटी हल हस्तान्तरण हुन बाँकी रहेको बताएका थिए । उनले सहरी विकासले निर्माण गरेको सिटी हलमा उपकरण जडान नभएकाले हस्तान्तरण र सञ्चालन गर्न नसकिएको बताएका थिए । 

उपप्रधान तथा सहरी विकास मन्त्री सिंहले ११ औँ स्थापना दिवस नेपाल सरकारको लागनीमा निर्माण गरिएको सिटी हलमा सञ्चालन गर्न सकिने बनाउने प्रतिबद्धता समेत जनाका छन । उनले धनगढी सिटी हलमा आवश्यक उपकरण जडान तथा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गर्ने बताएका हुन् ।

धनगढी उपमहानगरपालिले वडा नम्बर ३ को मोहन छेउमा नयाँ बसपार्क निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार गरिसकेको छ । एक लाख जनसंख्या लाभान्वित हुने बसपार्क निर्माणका लागि संघीय सरकारले जग्गाको भोगाधिकार दिएको छैन । धनगढी उपमहानगरपालिकाले जग्गाको भोगाधिकार माग्दै फाइल पठाएको छ ।

धनगढीमा ९५ किलोमिटर रिङरोडमा १० किलोमिटरको काम भएको उपमहानगरपालिकाले बताएको छ । धनगढी उपमहानगरपालिकाले एक लाख ५० हजार जनसंख्या लाभान्वित हुने ८५ किलोमिटर रिङरोडका लागि बजेट विनियोजन गर्न आग्रह गरेको हो ।