Skip to main content

एकसिंगे गैंडाका लागि उर्वर बन्दै शुक्लाफाँटा, डेढ दशकमा तेब्बरले बृद्धी

Submitted by editor on
सन २००५ मा पाँच वटाको संख्यामा रहेका एकसिंगे गैंडाको संख्या २०२४ मा आएर २३ पुगेको छ ।
ईबिगुल संवाददाता
गैँडाको संख्या तेब्बरले बढेको छ

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको संख्या तेब्बरले बढेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले गैँडाको संख्या तेब्बरले बढेको बताए । 

निकुञ्जमा वासस्थान राम्रो भएकै कारण गैँडाको संख्यामा वृद्धि भएको उनले बताए । निकुञ्जमा झन्डै डेढ दशकको अवधिमा तेब्बर बढीले एकसिंगे गैँडाको वृद्धि भएको हो । सन २००८ मा दुई पोथी, एक भाले र दुईको पहिचान नभएका गरी पाँच मात्रै रहेको गैँडाको संख्या २०२४ मा आइपुग्दा बढेर ६ भाले, १० पोथी र सात पहिचान नभएको गरेर २३ पुगेको छ । 

निकुञ्जको तथ्यांकअनुसार २००८ मा पाँच, २०१३ मा दुई भाले, दुई पोथी र तीन लिंग पहिचान नभएको गरेर सात, २०१५ मा एक भाले, तीन पोथी, चार पहिचान नभएको गरेर आठ, २०१८ मा चार भाले, ९ पोथी र चार पहिचान नभएको गरेर १७, २०२१ मा तीन भाले, चार पोथी, पाँच पहिचान नभएको गरेर १७, २०२२ मा चार भाले, सात पोथी र ९ पहिचान नभएको गरेर २० र २०२४ मा ६ भाले, १० पोथी, सात पहिचान नभएको गरेर २३ पुगेको हो ।

अन्तिम वर्ष २०८० को फागुन ५ देखि २२ सम्म पहिचानमा आधारित एकसिंगे गैँडाको गणना गरिएको थियो । गैँडाको वासस्थान क्षेत्रमा ब्लकमा प्रत्येक एक÷एक सय मिटरको दूरीमा भौगोलिक सूचना प्रणाली जिपिएस, रिसिभर, युनिट, दूरबिन, वाकीटाकी, एन्रोइड, मोबाइल फोन, क्यामेरालगायतका उपकरणसहित प्राविधिक हात्तीमा बसेर स्विप गर्दै प्रत्यक्ष गणना विधिबाट गैँडा गणना गरिएको थियो ।

शुक्लाफाँटा निकुञ्ज संरक्षणको जिम्मा नेपाली सेनाले पाएको छ । २०२६ सालमा सिकार आरक्षको रूपमा स्थापना गरिएको शुक्लाफाँटा २०३२ मा वन्यजन्तु आरक्ष र २०७३ सालदेखि राष्ट्रिय निकुञ्जमा घोषणा गरिएको थियो । शुक्लाफाँटा निकुञ्ज ३०५ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ ।