Skip to main content

सडक कालोपत्रेको मागगर्दै स्थानीयद्वारा गोदावरी नगरपालिका घेराउ

Submitted by editor on
ईबिगुल संवाददाता
 गोदावरी नगरपालिका

धनगढी : सडक कालोपत्रको माग गर्दै कैलालीको गोदावरी नगरपालिकाको कार्यालय घेराउ गरिएको छ । गोदावरी नगरपालिका–९ को कार्यालयमा चार दिनदेखि ताला लगाएका स्थानीयले कुनै सुनवाई नभएपछि बुधवार नगरपालिकाको कार्यालय घेराउ गरेका हुन ।

उनीहरुले धनगढीको बेला–मुर्कटी सडक कालोपत्रे माग गर्दै आएका थिए । गोदावरी नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारले सडक निर्माणका लागि बजेट विनियोजन नगरेको भन्दै स्थानीय आन्दोलित भएका हुन । धनगढी–सेहरी सडक कालोपत्रेका लागि बजेट विनियोजन गर्नुपर्ने माग उनीहरूको छ । स्थानीयले संघर्ष समिति गठन गरेर वडा कार्यालयमा ताला लगाएका थिए ।

संघर्ष समितिले गोदावरी नगरपालिका–९ का वडाध्यक्ष रामलाल रानालाई असोज ७ गते ज्ञापनपत्र बुझाएको थियो।  वडाध्यक्ष रानाको गोदावरी नगरपालिका र प्रदेश सरकारसम्म पहुँच नभएकाले वडामा योजना नआएका उनीहरूको आरोप छ । धनगढी–सेहरी–मुर्कटी सडकमा ग्राभेलसमेत नगरेको भन्दै उनीहरूले गोदावरी नगरपालिकाको कार्यालय घेरेका हुन ।