Skip to main content

सुदूरपश्चिमका नौवटै जिल्लामा कोरोना विरुद्धको ‘फाइजर’ खोप लगाइँदै

Submitted by editor on
ईबिगुल संवाददाता
कोरोनाविरुद्धको ‘फाइजर’ खोप

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकासहित स्थानीय तहका नागरिकलाई आजदेखि कोरोनाविरुद्धको ‘फाइजर’ खोप दिन थालिएको छ ।

उपमहानगरका सबै वडामा आजदेखि कोरोनाविरुद्धको खोप अभियानका रुपमा लगाउन थालिएको उपमहानगरको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए । अभियानमा १२ वर्षमाथि उमेर समूहका, हालसम्म कोरोनाको खोप नलगाएका र यसअघि खोप लगाएर एकवर्ष पुगिसकेका नागरिकलाई यो खोप दिन लागिएको हो ।

‘हाल कोरोना भाइरको सङ्क्रमण नरहेपनि यसको भेरियन्ट परिवर्तन भइरहँदा जोखिम हुनसक्छ’, अवस्थीले भने । ‘उपमहागरमा उपलब्ध भएको खोपको मात्राका आधारमा तीन दिन अभियान सञ्चालन हुनेछ ।’ खोप अभियान सुदूरपश्चिम प्रदेशका कैलालीसहित बझाङ र डडेल्धुराका स्थानीय तहमा सुरु भइसकेको प्रदेशस्थित स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका खोप कार्यक्रमका सम्पर्क व्यक्ति मीनराज जोशीले प्रदेशका सबै नौ जिल्लामा अभियान सञ्चालनका लागि एक लाख ९ हजार मात्रा खोप उपलब्ध भएको बताए । जोशीका अनुसार प्रदेशका गौरीफन्टा, गड्डाचौकी, झुलाघाट, पुलघाटलगायत भारतसँग सीमा जोडिएका स्थानमा सञ्चालित ‘हेल्थ डेस्क’मार्फत् स्वदेश भित्रिने नागरिकमा एन्टिजेन विधिबाट कोरोनाको परीक्षण हुँदै आएको छ । 

पछिल्लो समय सीमानाकामा गरिने एन्टिजेन परीक्षणमा कमी आएकाले खोप अभियान सञ्चालन गरिएको उनले बताए ।