Skip to main content

‘दशैं सुरक्षा योजनामा दोब्बर प्रहरी परिचालिन गरेका छौं, ढुक्क भएर दशैं मनाउनुस’

Submitted by editor on
हामीले विगतकै घटनाहरुको विश्लेषण गरेर नै सुरक्षा प्रबन्ध मिलाएका छौं । तराईका जिल्लाबाट धेरै जसो मानिसहरु पहाडतिर उक्लिने हुनाले कोही नभएको मौका छोपेर चोरी हुने गरेको पनि विगतको तितो अनुभव छ । तराईका शहरी क्षेत्रमा पनि नियमीत गस्तीको प्रबन्ध गरेका छौं ।
शिवराज भट्ट
रविन्द्र केसी

२०८१ सालको बडादशैं नजिकै आईरहेको छ । दशैंका बेला आपराधिक क्रियाकलाप पनि बढने गर्छन । धेरै मेला महोत्सव र जात्राहरुमा झैझगडा पनि हुने गर्छन । यस्तो बेला जुवातास बढी हुने गर्छन । यातायातका क्षेत्रमा क्षमता भन्दा बढी यात्रु बोक्ने र महंगो भाडा हुनेगर्छ । आम सुदूरपश्चिमबासीको सुरक्षाका लागि नेपाल प्रहरीको तयारी कस्तो छ ? सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक रविन्द्र केसी सँग ईविगुल डटकमका प्रधानसम्पादक शिवराज भट्ट ले कुराकानी गरेका छन ।

बडा दशैंको शुभकामना । 
–तपाईलाई पनि ।

दशैं नजिकै आईसक्यो, कस्तो सुरक्षा योजना छ ?
–हामीले सामान्य समयको भन्दा झण्डै दोब्बर प्रहरी परिचालित गरेका छौं । गुल्म र गणमा रहेको प्रहरी जनशक्ति पनि हामीले खटाई सकेका छौं । प्रदेश भरी सादा पोषकका प्रहरी पनि परिचालिन गरिएका छन । ‘क्विक रेस्पोन्स टीम’ (क्युआरटी) पनि तैनाथ छन । यो भनेको जति बेला पनि घटनास्थलमा पुग्ने टीम हो । 

गस्तीको ब्यवस्थापनक कस्तो छ ?
–हामीले पहाडि जिल्लाहरुका लागि सडक नभएको स्थानमा पैदल गस्तीको पनि ब्यवस्थापन गरेका छौं । पहाडमै पनि सडक भएको ठाउँमा गाडी र मोटरसाईकलमा पनि गस्ती हुन्छ । तराईका २ जिल्ला कैलाली र कञ्चनपुर अझ बढी संवेदनशील जिल्ला हुन । यी दुई जिल्लाका लागि नियमीत गस्ती त हुने नै भयो । मोटरसाईकल र नजिकको क्षेत्रमा साईकल गस्तीको पनि ब्यवस्था गरिएको छ ।

कुन कुन जिल्लाहरु संवेदशसील क्षेत्रमा पर्छन ?
–कैलाली कञ्चनपुरका केही भागहरु संवेदनशील छन । पहाडमा पनि हामीले विगतको घटनाहरु विश्लेषण गरेर योजना बनाएका छौं । पहाडमा रात्रीकालिन जात्राहरुमा अझ बढी झैंझगडा र हुलदंगा हुने गर्छ । त्यसको विश्लेषण गरेर नै हामीले यसपाली सुरक्षा योजना बनाएका छौं । विगतको अवस्था अनुसार त्यहाँ विगतको भन्दा फरक र थप जनशक्ति तैनाथ गरिएको छ । 

ठुलो संख्यामा भारतबाट स्वदेश फर्किनेहरुलाई सीमा क्षेत्रमा असहजताको कुरा आएको छ नी ?
–एकदमै, त्यो कुरा आएको छ । सीमा क्षेत्रमा बडादशैंका लागि घर आउनेहरुको सहजताका लागि हामीले विषेस योजना बनाएका छौं । सीमा क्षेत्रमा भारतीय पक्षबाट हुने समस्याका लागि काउन्टरपार्टसँग हामीले बैठक नै गरेर कुराकानी गरिरहेका छौं । तत्काल देखिने समस्याका लागि काउन्टरपार्ट सँग तुरुन्तै पनि कुरा हुने गरेको छ । मैले त सीमा क्षेत्रमा सडक नै छोपिने गरी राखिएका नेपाल प्रहरीका खोकाछाप्राहरु हटाउन निर्देशन नै दिएको छु । स्वदेश फर्किने नेपालीहरुलाई सहजताका लागि सीमा क्षेत्रका प्रहरी प्रमुखहरुलाई निर्देशन भईसकेको छ । अन्य सुरक्षा निकायसँग हाम्रो राम्रो समन्वय भईरहेको छ । हामीले सीमा क्षेत्रहरुमा नागरिक सहायता कक्ष स्थापना गरेर स्वदेश फर्किने नेपालीहरुलाई सहयोग गरिरहेका छौं ।

दशैं र तिहारका बेला मुख्य सुरक्षा चुनौती के हो ?
–मुख्य चुनौती भनेको पहाडि जिल्लाको रात्रीकालिन मेला र जात्रा नै हो । रात्रीकालिन मेला र जात्रामा अत्यधीक मदिरा विक्रि हुने, मदिराका कारण आपराधिक घटनाहरु हुने, झैझगडा हुने, कतै कतै त मानिसको ज्यान समेत जाने घटनाहरु विगतमा देखिएका छन । हामीले विगतकै घटनाहरुको विश्लेषण गरेर नै सुरक्षा प्रबन्ध मिलाएका छौं । अर्को कुरा हामीले तराईका जिल्लाबाट धेरै जसो मानिसहरु घरमा ताला लगाएर पहाडतिर उक्लिने हुनाले कोही नभएको मौका छोपेर चोरी हुने गरेको पनि विगतको तितो अनुभव छ । त्यसलाई पनि विश्लेषण गरेर हामीले तराईका शहरी क्षेत्रमा पनि नियमीत गस्तीको प्रबन्ध गरेका छौं । 

यात्रुको चापका कारण सवारी साधनहरुमा पनि क्षमता भन्दा बढी यात्रु ओसार्ने गरिन्छ । त्यसका लागि के गरिरहनु भएको छ ?
–दशैंका बेलाको यो अर्को मुख्य चुनौती हो । हामीले क्षमता भन्दा बढी यात्रुओसार्न नदिनका लागि अत्तरिया सहितका चोकहरुमा ट्राफिक प्रहरी परिचालित गरेका छौं । आधा बाटोमा गएर चेकजाँच गर्नुभन्दा सवारी साधनमा चढने ठाउँमै त्यसलाई नियन्त्रण गर्नुपर्छ भनेर हामीले धनगढी बसपार्क, अत्तरिया बसपार्क, महेन्द्रनगर बसपार्कहरुमा ट्राफिक परिचालन गरेका छौं । 

अन्तमा केही भन्नुछ ?
–म सबै सुदूरपश्चिमबासीलाई बडादशैंको शुभकामना दिन चाहन्छु । यो हामी सबैको ठुलो चाड हो, यस चाडलाई आनन्दका साथ मनाऔं भन्न चाहन्छु । हरेक ब्यक्तिको जिम्मेवारी भनेको शान्ति सुरक्षा कायम गर्ने हो, त्यसमा सहयोग गर्न आह्वान गर्न चाहन्छु । जीवन रहे न सबै कुरा रहने हो, त्यसैले जोखिमपूर्ण यात्रा नगर्न अनुरोध गर्न चाहन्छु । नेपाल प्रहरी अहोरात्र खटिएर प्रदेशबासीको सुरक्षा गरिरहेको छ । मज्जाले ढुक्कका साथ दशैं मनाउनुहोस भन्न चाहन्छु  ।