Skip to main content

डडेल्धुरा दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो, घाईते सबै धनगढी रेफर

Submitted by editor on
ईबिगुल संवाददाता
पवनदूत यातायातको बस दुर्घटना

डडेल्धुरा : डडेल्धुरामा भएको पवनदूत यातायातको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । घटनास्थलमा बुधबार बिहान ११ बजे थप एक जनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो । बैतडीको पुर्चौडी नगरपालिका–१० की ६० वर्षीया गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले बताए ।

उनका अनुसार खोज तथा उद्धारका क्रममा उनको शव आज बिहान ११ बजेतिर मात्रै फेला परेको हो । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस मंगलबार राति साढे १२ बजे डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको थियो । 

दुर्घटनामा मृत्यु भएका अन्य चारजनाको पनि यसअघि नै सनाखत भइसकेको छ । पुर्चौडी–३ बस्ने ४५ वर्षीया जैमती बोहरा, दुई दिनको शिशु, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरासहित १२ जनालाई थप उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक बमले जानकारी दिए । दुर्घटनामा अन्य ११ जना पनि घाइते छन । 

बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको थियो ।  दुर्घटनाको कारण भने खुल्न सकेको छैन । दुर्घटनामा परी अन्य पनि बेपत्ता भएको आशंकमा प्रहरीले खोजी कार्य जारी राखेको छ । स्थानीय सर्वसधारण र प्रहरी खोजी जारी राखेका छन् ।