धनगढी : भारतबाट स्वदेश फर्किरहेका नेपालीहरुबाट, सीमा नाकाका प्रहरीलाई मिलाईदिने भन्दै रकम असुल गर्ने २ जना रिक्सा चालकलाई सशस्त्र प्रहरीले पक्राउ गरी कारवाहीका नेपाल प्रहरीको जिम्मा लगाएको छ ।
शुक्रबार गौरीफन्टा नाका भएर नेपाल फर्किरहेका कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियाका लोकेन्द्र ओझालाई, नाका भरीका प्रहरीलाई मिलाउनुपर्छ भन्दै २ हजार असुल गरेका धनगढी उपमहानगरपालीका–३ मिलनचोक बस्ने २५ वर्षीय मनोज बहेडी र धनगढी–२ चौराह बस्ने ३१ वर्षीय करन बोहरालाई सशस्त्र प्रहरी त्रिगर पोस्टले पक्राउ गरेको हो ।
उनीहरूले ओझाबाट नेपालतर्फका सुरक्षाकर्मीलाई पैसा दिनुपर्छ भनेर दुई हजार भारतीय रूपैयाँ लिएको पाइएपछि दुवै जनालाई सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म त्रिनगरको टोलीले नेपाल प्रहरीलाई बुझाएको छ ।
उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।