धनगढी : पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले गरिरहेको सडक आन्दोलनको कुनै तुक नरहेको बताएका छन ।
एक साता लामो गृहक्षेत्रको भ्रमणका लागि आईतबार सुदूरपश्चिम आएका पूर्व प्रधानमन्त्री देउवाले धनगढी विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन । उनले नेपाली काँग्रेसका नेताहरुको पनि छानविन भएको, प्रहरीले पक्राउ गरेको र अदालतमा मुद्धा परेका बेला पार्टीले अदालतमा विश्वास गरेको बताए ।
‘हाम्रा साथीहरुलाई पनि मुद्धा लागेको छ । पक्राउ परेका छन । अदालतमा मुद्धा चलिरहेको छ । हामीले त कहिले हो–हल्ला गरेनौं, रास्वपाले पनि अदालतलाई विश्वास गर्नु प¥यो नी । अहिले मुद्धा अदालती प्रकृयामा छ’ देउवाले भने ।
उनले सत्ता गठबन्धनमा केही असमझदारी देखिएको चर्चा गलत भएको बताए । ‘सत्ता गठबन्धनमा कुनै असमझदारी र समस्या छैन । यो गठबन्धन २०८४ सम्म टिक्छ’ उनले भने । काँग्रेस सभापति देउवाको कार्यकर्ताहरुले विमानस्थलमा भब्य स्वागत गरेका थिए । मोटरसाईकलमा विमानस्थल पुगेका सैयौं कार्यकर्ताले नाराबाजी गर्दै धनगढीसम्म उनको स्कटिङ गरेका थिए ।
देउवा आजै गृहजिल्ला डडेल्धुरा जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । देउवाले गृहजिल्लामा उग्रतारा जातमा सहभागि हुनेछन भने उनका गृह जिल्लाका अरु धार्मिक कार्यक्रम पनि तय भएका सचिवालयले जनाएको छ ।