Skip to main content

सुदूरपश्चिम प्रदेश सरकारका सय दिन, साढे १८ किलोमिटर पक्की सडक (प्रगती विवरण सहित)

Submitted by editor on
शिवराज भट्ट
मुख्यमन्त्री कमल बहादुर शाह

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आफ्ना सय दिनको प्रगती सार्वजनिक गरेको छ । मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्रिपरिषदका अधिकांस मन्त्रीहरु राखेर मंगलबार विहान पत्रकार सम्मेलनको आयोजना गर्दै सय दिनको प्रगती सार्वजनिक गरेका हुन ।

बजेट विहीनताको अवस्थामा बनेको प्रदेश सरकारले चुनौतीका बाबजुद पनि साढे १८ किलोमिटर पक्की सडक, २७ किलोमिटर ग्राभेल सडक, २ वटा पुल र ८९ वटा खानेपानी आयोजनाहरु सम्पन्न गरेको जनाएको छ ।

राजनीतिक उतारचढावका कारण दुई महिना ढिलो गरी बजेट पास भएपनि प्रदेश सरकारले विकास निर्माणको ८ प्रतिसत रकम खर्च गरेको पनि जनाएको छ । 

२०८१ साउन २१ गते कमल बहादुर शाह मुख्यमन्त्री बनेका थिए भने उनले आफ्नै सपथका दिन पुरै मन्त्रिमण्डल विस्तार पनि गरेका थिए । मुख्यमन्त्री शाहले, सेवा प्रवाह, सुशासन प्रवर्धन, भ्रष्टाचार नियन्त्रणको लागि कार्यदल गठन भई १५ दिनभित्रै प्रतिवेदन प्राप्त हुनु, प्रदेश निजामती सेवा पहिलो संसोध ऐन, २०८० पारित भई कार्यान्वयनमा आउनुलाई नीतिगत उपलब्धि भएको दाबी गरेको छ ।

प्रदेश सरकारले सय दिनमा २ वटा नीति, चार वटा कानूनमा संसोधन, एउटा विधेयक प्रस्तुुत, एउटा नियमावलीको मस्यौता तयार गरिएको पनि बताएका छ । सरकारले भारतमा कामका लागि जानेहरुको तथ्यांक राख्नका लागि सफ्टवेयर तयार भएको, अपांगता भएका ब्यक्तिहरुका लागि नयाँ नयाँ कार्यक्रम ल्याएको, स्थानीय तहको वित्तिय हस्तान्तरण तीन गुणाले बढाएको पनि प्रगतीमा देखाएको छ ।

प्रदेश सरकारले एक सय दिनमा कृषि क्षेत्रमा उल्लेख्य काम भएको दाबी गरेको छ । एक सय दिनको अवधिमा बाजुराको मार्तडी, अछामको साँफेबगर र कैलालीको गोदावरीमा कोल्ड चेम्बर निर्माण भएको विवरण सार्वजनिक गरेको छ । यसैगरी ६१० हेक्टर क्षेत्रफलमा गहुँ तथा दलहन बालीको बिउ उत्पादन कार्यक्रम चलाएको, ३० वटा कृषक पाठशाला चलाएको, ५६५ हेक्टर जग्गामा व्यवसायिक आलु तथा तरकारी खेती विस्तार गरेको विवरण सरकारले सार्वजनिक गरेको छ ।
प्रदेश सरकारको सय दिनको प्रगती 
 

Document