धनगढी : धनगढीमा कित्ताकाट गर्दा १० मिटर सडक छोडनुपर्ने मापदण्ड लागु गरिन थालिएको छ । धनगढी उप महानगरपालिका वडा नम्बर ५ की उषादेवी सिंहले कार्यविधि अनुसार १० मिटरको सडक बनाएर कित्ताकाट गरेकी छिन ।
धनगढी उपमहानगरपालिकाले दिएको जानकारी अनुसार उनी जग्गा प्लटिङ सम्बन्धी कार्यविधि, २०८० अनुसार १० मिटर सडक छोडेर कित्ताकाट गर्ने पहिलो सेवाग्राही हुन ।
धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङ सम्बन्धी कार्यविधि, २०८० अनुसार नयाँ प्लटिङमा १० मिटरको सडक कायम गर्न थालिएको हो । कार्यविधिअनुसार धनगढीमा जग्गा प्लटिङ गर्दा सडकको चौडाइ १० मिटर अर्थात् ३३ फिट हुनुपर्ने मापदण्ड तोकिएको छ । सोही मापदण्डअनुसार धनगढी उपमहानगरपालिका–५ की पुष्पादेवी सिंहले नयाँ सडक खोल्दा १० मिटरको सडक कायम गरेकी हुन ।
धनगढीका जग्गा व्यवसायीले उपमहानगरले जग्गा प्लटिङ सम्बन्धी कार्यविधि बनाएपछि विरोध गरेका थिए । सडकको चौडाइ २० फिटबाट बढाएर १० मिटर हुनुपर्ने मापदण्डको जग्गा व्यवसायीले विरोध गरेका थिए । कार्यविधि विरुद्ध उनीहरुले सर्वोच्च अदालतमा रिट नै दायर गरेका थिए ।
उपमहानगरले नयाँ प्लटिङमा २० फिट सडक मात्रै कायम हुँदा आधुनिक सहर निर्माणका लागि बाधक हुने भन्दै नयाँ बन्ने सडकहरू १० मिटर बनाउनुपर्ने भन्दै कार्यविधि ल्याएको थियो ।