धनगढी : आउदो मंसिर देखि धनगढीको पार्कमोडमा शनिबारे मेलाको आयोजना हुने भएको छ । महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले हरेक शनिबार दिउसो १ बजेदेखि बेलुकी ६ बजेसम्म मेलाको आयोजना हुने धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला रानाले बताईन ।
मेलाका लागि ३५ वटा स्टल तयार गरिन लागेका छन । खानेपानी, विद्युत्, शौचालय, स्टल तथा टेन्ट, टेबुल, कुर्सी, स्वास्थ्यकर्मीको टोली लगायत व्यवस्थासमेत गरिन लागेको उपमहानगरपालिकाले जनाएको छ ।
धनगढीमा स्थायी बसोबास गर्दै आएका महिलाहरूले आफ्नो सीप अनुसारका सामाग्री तथा बस्तु बिक्रीवितरण गर्न मेलाको आयोजना गरिन लागिएको नगरप्रमुख गोपाल हमालले बताए । उनले भने, ‘धनगढी उपमहानगरपालिकाले विशेष गरेर महिलालाई लक्षित गरेर, महिलालाई स्वरोजगार बनाउने लक्ष्यसहित शनिबारे महिला उद्यम बजारको व्यवस्था गरिरहेको छ ।’
उनले महिलामात्र सहभातिग हुन पाउने मेलामा आफुले जानेका परम्परागत खानाहरू, सीपहरू, उत्पादन गरेका बस्तुको बिक्रीवितरण गर्ने, विभिन्न संघ÷संस्थाले दिएका तालिमबाट सीप पाएका महिला सहभागि हुन पाउनेछन ।
महिलाहरूले तयार पारेका अचार, ढकिया, माछा, पकौडी लगायत बस्तु बिक्री गर्न पाउनेछन् । व्यवसाय सञ्चालन गर्दै आएका महिलालाई भने शनिबारको बजारमा स्थान दिइने छैन । घरमा बस्दै आएका र सीप भएका महिलाहरूलाई निःशुल्क अवसर दिने उपमहानगरले जनाएको छ ।
नगर प्रमुख हमालले महिलालाई उद्यमी बनाउने उद्देश्यले शनिबारे बजार सञ्चालनको तयारी गरेको बताए । यसका लागि परिचयपत्र बनाउनुपर्ने छ । अहिले धनगढीका महिलालाई प्राथमिकता दिने र विस्तारै अन्य पालिकाका महिलालाई पनि अवसर दिने नगरप्रमुख हमालले बताए ।
युवाका लागि रात्रिकालीन बजार
उपमहानगरपालिकाले युवा लक्षित रात्रिकालीन बजार समेत सञ्चालन गर्ने भएको छ । धनगढीमा अध्ययनका लागि बसोबास गर्दै आएका युवाहरूका लागि साँझ ६ देखि राति १० बजेसम्म बजार सञ्चालन गर्न तयारी भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।
पहिलो चरणमा महिला र दोस्रो चरणमा युवा लक्षित बजार सञ्चालन हुने नगरप्रमुख हमालले बताए । धनगढी उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा राखेको ‘पढ्दै कमाउदै कार्यक्रम’ को कार्यान्वयन गर्न लागेको हो ।