धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले कर्मचारी सरुवामा कसैमाथि अन्याय भएको छ भने आफुकहाँ आउन अपिल गरेका छन । आफु नेतृत्वको सरकारको सय दिनको समिक्षा कार्यक्रममा कर्मचारी सरुवामा ब्यापक अनियमितता भएको कुरा उठेपछि मुख्यमन्त्री शाहले यस्तो बताएका हुन ।
सरुवाका क्रममा आफ्नालाई पायक पर्ने ठाउँमा पठाएको र पहुँच नभएकाहरुलाई मनपरि सरुवा गरेको भन्दै कर्मचारीहरुले गुनासो गरेको भन्दै पत्रकारहरुले प्रश्न गरेका थिए । पत्रकारहरुको प्रश्नको जवाफमा मुख्यमन्त्री शाहले भने, ‘सरुवामा कसैमाथि अन्याय भएको छ भने उसले सम्बन्धित मन्त्रालयमा निबेदन दिनुपर्छ । सम्बन्धित मन्त्रालयमा सचिव र मन्त्रीले त्यसमाथि कारवाही गरेनन भने सिधै म कहाँ आउन भनिदिनुस’ मुख्यमन्त्री शाहले भने ।
उनले कर्मचारी सुरुवामा कुनै भेदभाव नगरिएको बताए । ‘कर्मचारी सरुवामा कसैले अनियमितता गरेको प्रमाण दिनुहोस, ठाउँको ठाउँ कारवाही गर्छु, कुनै कर्मचारीलाई समय अगावै सरुवा गरिएको छ भने निवेदन दिनुस तुरुन्तै सच्चाउन लाउछु’ मुख्यमन्त्री शाहले भने ।
उनले कर्मचारीहरुले पनि बाहिर÷बाहिर गएर यस्ता कुरा नगर्न आग्रह गरे । ‘कर्मचारीहरुलाई पनि के अनुरोध गर्न चाहन्छु भने बाहिर÷बाहिर गएर चियापसलमा, साथीभाईहरुलाई यस्ता कुरा नगर्न अनुरोध गर्छु । अन्याय भएको छ भने सिधै म कहाँ आउनुस, म न्याय दिनेछु’ शाहले भने ।