Skip to main content

जिसस कैलालीमा काँग्रेस र एमालेबीच चुनावी तालमेल हुने, नाउपासँग छलफल चल्दै

Submitted by editor on
ईबिगुल संवाददाता
एमाले र काँग्रेसबीच तालमेल

धनगढी : स्थानीय तहको उप निर्वाचनका लागि मनोनयनको दिन कैलालीमा भने एमाले र काँग्रेसबीच तालमेल हुने भएको छ । एमालेले काँग्रेसकी उमेदवार टीकाकुमारी भूललाई मत दिने सहमति भएको छ ।

नेपाली कांग्रेस कैलाली सभापति नारायणदत्त भट्ट, उपसभापति खेमराज डङ्गौरा, सचिव केशव मिश्र र एमाले कैलालीका इन्चार्ज नारदमुनि राना, कैलाली अध्यक्ष यज्ञराज डुङ्गाना, सचिव ममता चौधरीलगायतका नेताबिच यस्तो सहमति भएको हो ।

कांग्रेसले प्रमुखमा टीकाकुमारी चौधरी (भुल)लाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । उनको उम्मेदवारी दर्तामा धनगढी उपमहानगरकी उपप्रमुख तथा एमालेकी नेतृ कन्दकला राना प्रस्तावक रहेकी छन् । टिका कैलारी गाउँपालिका वडा नम्बर २ बाट दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् । 

२०७९ साल पुस २३ गते समन्वय प्रमुख पदम कलेलको निधन भएपछि कार्यवाहक प्रमुखको भरमा समन्वय चल्दै आएको छ । जिसस कैलालीको मतभार २६ रहेको छ । 

आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको तालिका छ । मंसिर १६ मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको सूची आइतबार साँझ ५ देखि ६ बजेसम्म प्रकाशन गरिनेछ ।

उम्मेदवारको विरोधमा मंसिर ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने कार्यसूची छ । मंसिर ५ लाई उम्मेदवारीको नाम फिर्ता लिने समय तोकिएको छ ।

त्यही दिन अपराह्न उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ । २०७९ को निर्वाचनपछि रिक्त रहेका पदमा उपनिर्वाचन हुँदैछ। यही उपनिर्वाचनबाट कैलाली जिल्ला समयन्व समिति प्रमुख पनि चयन गरिनेछ ।