Skip to main content

छोराका लागि मन्त्री सिंहको शव चार दिनसम्म अस्पतालमै राखिने

Submitted by editor on
प्रताप ओली
ज्यान गुमाएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री

बझाङः मंगलबार अपरान्ह सवारी दुर्घटनामा ज्यान गुमाएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्रीको अन्तिम संस्कार चार दिनपछि गरिने भएको छ । मन्त्रि सिंहका कान्छा छोरा इजरायलमा छन । उनले त्यहाँबाट  आउन समय लाग्ने भएकाले पार्थिव शरिर चार दिन जिल्ला अस्पतालमा राखिने नेपाली कांग्रेस बझाङका नेता पाण्डव थापाले जानकारी दिए । 


मन्त्री सिंहका छोरा पुगेपछि शनिबार बझाङमा पनि अन्तिम श्रद्धाञ्जली कार्यक्रम पछि दाहसंस्कार गरिने नेता थापाले बताए । सिंहकी धर्मपत्नी अमृतादेवी सिंहको शव भने मंगलबारदेखि नै जिल्ला अस्पतालमा राखिएको छ । 


भाउजू जयादेवी सिंह शव आफन्तले जिल्ला अस्पताल सिमखेतबाट महेन्द्रनगर लगिसकेको नेपाली कांग्रेस पुर्व पार्टी सभापति हर्कजंग बहादुर सिंहले बताए । सिंहको निधनले सिंगो बझाङ स्तब्ध बनेको छ । सदरमुकाम चैनपुरका व्यापारीले बुधबार पुर्ण रूपमा पसल बन्द गरि शोक मनाएका छन् ।


डडेल्धुराबाट गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सिंहको दुर्घटनामा परि मृत्यु भएको थियो । मन्त्री सिंह सवार सुपप्र ०१ ००१ झ ४८० नम्बरको जीप मंगलबार दिउँसो १ः३० बजे केदारस्युँ गाउँपालिका १ मा पर्ने  धारछडा भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।  
जीप  केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो । मन्त्रि सिंहको पार्थिव शरिर बुधबार विहान धनगढी रंगशलामा राखिएको थियो । 


उनलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र सभामुख भीम बहादुर भण्डारीले नेपालको झण्डा ओढाएर श्रद्धाञ्जली ब्यक्त गरेका थिए । श्रद्धाञ्जली दिन प्रदेश प्रमुख देबराज जोशी, प्रमुख प्रतिपक्षी दलका नेता राजेन्द्र सिह रावल, प्रदेश सभा सदस्यहरु, प्रदेश सरकारका मन्त्रीहरु, नेपाली सेनाका पृतनापती, धनगढी नगरपपालिकाका मेयर, उपमेयर सहित संयौंको सहभागिता रहेको थियो ।
मन्त्री सिंहका गाडी चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारीको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ ।