धनगढी : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित घरमा बम राखेको आरोपमा कैलाली प्रहरीले एकजना पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार देउवा निवासमा बम राखेको आरोपमा कैलालीको गौरीगंगा नगरपालिकाका दानबहादुर धामीलाई पक्राउ गरिएका हो । धामी नेकपा बहमुतका कार्यकर्ता हुन ।
जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका नेकपा (बहुमत) का एक नेताले देउवाको धनगढी स्थित निवास अगाडि धामीलाई बम राख्न लगाएको बयान दिएपछि प्रहरीले उनलाई शुक्रबार नै पक्राउ गरेको थियो ।
गत भदौमा देउवाको निवास अगाडि अज्ञात समूहले विस्फोटक वस्तु राखेको थियो । सो विस्फोटक वस्तु बम भएको पाइएपछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो ।