Skip to main content

परासनमा स्वस्तिक अस्पतालको नि:शुल्क स्वास्थ्य शिविर, ८२० जनाले लिए विषेशज्ञ सेवा

Submitted by editor on
ईबिगुल संवाददाता
निशुल्क उपचार

धनगढी : आँखामा मोटो चस्मा, लौरो टेकेर आएकी ८० वर्षिया दामा बुढा असाध्य खुसी थिईन । आर्थिक अवस्था कमजोर रहेको र जीवनको उत्तरार्धमा रहेको स्वास्थ्यका कारण अस्पताल जान नसकेकी दामाले निशुल्क उपचार पाएपछि यस्तो खुसी ब्यक्त गरेकी हुन । उनले औषधी पनि निशुल्क पाएपछि त खुसीको सीमा थिएन । भनिन ‘यस्तो अवस्थामा निशुल्क औषधी दिनेको भलो भई जाओस ।’

दामा बुढा मात्र होईन, निशुल्क स्वास्थ्य शिविरमा सबैभन्दा बढी ८६ वर्षका मान बहादुर थापाले पनि निशुल्क उपचार पाए । दमका विरामी रहेका उनलाई विषेशज्ञ चिकित्सकले चेकजाँच गरी औषधी दिएपछि उनको पनि खुसीको सीमा थिएन । ‘दम छ, हिड्दा सास लाग्छ, अस्पताल जान सकिदैन, सामुदायीक बन र अस्पतालले गरेको स्वास्थ्य शिविरले धेरैलाई फाईदा भएको छ, म पनि खुसी छु’ उनले भने ।

शिविरमा सबैभन्दा बढी ८२ वर्षका जेष्ठनागरिक मन्सरा सिह ठकुरीले पनि स्वास्थ्य सेवा लिएकी छन । ढाड कम्मर दुख्ने समस्या लिएर शिविरमा आएकी ठकुरीले भनिन, ‘स्थानीय सरकारले पनि अस्पतालहरुसँग मिलेर यस्तै स्वास्थ्य शिविरहरु गाँउ गाँउमा ल्याई दिनुपर्छ ।’ 

धनगढीको स्वस्तिक अस्पताल र पुनर्वास नगरपालिकाको वडा नम्बर ८ परासनमा रहेको जनजागरण सामुदायीक बनले सामुदायीक बनकै परिषरमा निशुल्क स्वास्थ्य शिविरको ओाजना गरेको हो । शिविरमा ८ सय २० जनाले सेवा लिएका अस्पतालका अध्यक्ष दिपेन्द्र प्रसाद तिवारीले बताए ।

सामुदायीक वनकै परिषरमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य सिविरमा जनरल फिजिसियन डाक्टर सुनील पाण्डे, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईन्द्र बहादुर शाह शाहु, र प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर अन्जना काफ्लेले चेकजाँच गरेका थिए । 

शिविरमा मेडिकल अधिकृत द्धय बन्दना काफ्ले र हरिस जोशी सहित स्वस्तीक अस्पतालको स्वास्थ्यकर्मीको टोली खटिएको थियो । स्वस्तीक अस्पताल र सामुदायीक बनले आयोजना गरेको शिविरमा सेवा लिएकी स्थानीय शान्ति तामाङले आफुले गाउँमा विषेशज्ञ सेवा पाएकोमा खुसी ब्यक्त गरिन । ‘गाउँमा धेरै विरामीहरु आर्थिक अवस्था कमजोर भएकाले अस्पतालसम्म पुग्न सक्दैनन, यसरी गाउँमा विषेशज्ञ सेवा पाउदा खुसी लागेको छ’ उनले भनिन ।

शिविरमा अधिकांस जेष्ठ नागरिकहरुले सेवा लिएका अस्पतालले जनाएको छ । निशुल्क शिविरमा सेवा लिएकी परासनकी महामती बिकले पनि अस्पताल र सामुदायीक बनलाई धन्यवाद दिईन । ‘अस्पतालमा जान स्वास्थ्यले साथ दिदैन, गाउँमै डाक्टर आएर औषधी दिए, खुसी भएकी छु’ उनले भनिन ।

सव डिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश यादवले शिविरको उद्घाटन गरेका थिए । उनले निशुल्क स्वास्थ्य शिविर माफर्त वन उपभोक्ता समुहका सदस्यले स्वास्थ्य  सेवा लिन पाएकोमा खुशी ब्यक्त गरे । यादबले यसपछिका स्वास्थ्य सिविर संचालन गर्न सहकार्य गर्न तयार रहेको बताए । शिविर उद्घाटन समारोहको अध्यक्षता सामुदायीक वनका अध्यक्ष लोक बहादुर कार्कीले गरेका थिए ।  

उदघाटन कार्यक्रममा स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलका अध्यक्ष दिपेन्द्र प्रसाद तिवारीले स्वस्तीक अस्पतालले मानव स्वाथ्यका लागि उच्चतम प्रविधि तथा गुणस्तरीय स्वास्थ्य सेवालाई आफ्नो अभियान बनाएको बताए ।
जनजागरण सामुयीक बनमा ४२ सय उपभोक्त छन । सामुदायीक बनले आफ्ना उपभोक्ताहरुलाई थप सेवा दिनका लागि शिविरको आयोजना गरेको अध्यक्ष लोक बहादुर कार्कीले बताए ।