Skip to main content

राष्ट्रपतिले भने, “ श्रम र श्रमिक केही हुन् भन्ने विषयलाई प्राथमिकता दिएर विकासको गति अघि बढाऔ ”

Submitted by editor on
एजेन्सीहरुको सहयोगमा
रामचन्द्र पौडेल

 

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन् भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको विकासको गति अघि बढाउनु अहिलेको आवश्यकता रहेको बताएका छन् ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा काठमाडौंमा मंगलबार आयोजित छैठौं श्रम संसदलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक मात्र नभइ यससँग मानवीय विषय पनि उत्तिकै जोडिएको बताएका हु्न् । 

उनले प्राकृतिक स्रोत साधन र पूँजीको परिचालन श्रमजीवी वर्गले गर्ने बताए। आफ्नो राजनीतिक जीवनमा देशको सामाजिक र आर्थिक रुपान्तरणका लागि कृषक, श्रमिक तथा मजदुरको सम्मानको विषयलाई आफूले सदैव प्राथमिकता दिएको उनले स्मरण गरे। उनले सफल राजनीतिक परिवर्तनपछि देशले चाहेको विकास र समृद्धिको आधार पनि यही अवधारणाको जगमा खोज्नुपर्ने जिकर गरे ।

नेपालका श्रमजीवीहरूले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरेको योगदान सराहनीय रहेको र सोही योगदानका कारण संविधानमा उचित श्रम अभ्यास, संगठन गर्न पाउने स्वतन्त्रता, सामूहिक सौदावाजी र योगदानमा आधारित सामाजिक सुरक्षाजस्ता विषय मौलिक हककारुपमा रहन पुगेको उनले उल्लेख गरे । 

राष्ट्रपति पौडेलले अहिले भौतिक विकासका रुपमा भएको प्रकृतिको दोहन र मानवीयता प्रतिको बेवास्ताले विश्वमा दिनानुदिन जलवायु परिवर्तनको जोखिम बढेको पनि बताए। उनले श्रमिकहरूको जीवनस्तरमाथि उठाउने र कार्यस्थललाई सुरक्षित र मर्यादित बनाउने जेटियुसीसीको उद्देश्यको प्रशंसा समेत गरे ।