Skip to main content

सिद्धान्तबाट विचलित भएकाहरु एमाले छोडेको कुप्रचार गर्दैछन : लेखराज भट्ट

Submitted by editor on
शिवराज भट्ट
लेखराज भट्ट

धनगढी : नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्टले सिद्धान्तबाट विचलित भएकाहरुले एमाले छोड्यो भनेर कुप्रचार गरिरहेको बताएका छन । उनले विचारबाट नसक्ने देखेपछि सामाजिक सञ्जालबाट एमाले छोडेको कुप्रचार गर्दै जनतालाईभ्रममा पार्न खोजिएको बताए ।

‘म केहीबेरअघि मात्रै नेकपा एमालेकोे केन्द्रिय कमिटिको बैठक सकेर काठमाण्डौं स्थित घर पुगेको छु । दुई दिन देखि पार्टीको केन्द्रिय कमिटिको बैठकमा छु । घर आएर सामाजिक सञ्जालमा हेर्दा एमाले छोडेको पोस्टहरु देखेर अचम्म लाग्यो’ नेता भट्टले भने ।

उनले विचार र सिद्धान्तले नसक्नेहरुले आफ्नो चरित्रहत्या गरेर विवादित बनाउने कुचेष्टा गरिरहेको बताए । ‘विचार र सिद्धान्तले नसक्नेहरुले एमाले छोडे भनेर भ्रम फैलाईरहेका छन । म एमालेमै छु । आम जनता र कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गर्दछु’ ईविगुल डटकमसँग कुरागर्दै सचिव भट्टले भने ।

समाचार तयार पार्दाको ५ छण्टा अघि भीम उपाध्याय नामको फेसबुकको वालमा सचिव भट्ट सहितका ४६ जनाले एमाले छोडेको भन्दै पोष्ट गरिएको थियो । ‘सामाजिक सञ्जालको दुरुपयोग गरेर चरित्र हत्या गरिएको छ, जनतामा भ्रम फैलाउने कार्य भएको छ’ सचिव भट्टले भने ।

भीम उपाध्यायको पोस्ट लगत्तै माओवादी कार्यकर्ताहरुले पनि सचिव भट्टले पार्टी छोडेको भन्दै पोस्टहरु हाल्न सुरु भएका थिए । माओवादीकी महिला नेता दुर्गा जोशी भट्टले पनि भट्टको जनयुद्धकालिन तस्बिर सहित ‘फाईनल्ली लेखराज भट्टले एमाले छोडेका छन’ भनेर पोष्ट हालेकी थिईन । 

यसअघि एमाले सचिव भट्टको निर्वाचन क्षेत्रका कार्यकर्ताहरुले पार्टी छोडेको भन्दै विज्ञप्तीहरु प्रकाशित गरिएको थियो । उक्त विज्ञप्ती नक्कली रहेको भन्दै भट्टको निर्वाचन क्षेत्रका कार्यकर्ताहरुले त्यसको विरोग गर्दै अर्को विज्ञप्ती प्रकाशित गरेका थिए । ‘मेरो निर्वाचन क्षेत्रका जनतालाई पनि भ्रममा पार्न खोजिएको छ । म सबै नेता कार्यकर्ताहरुलाई कसैको कुप्रचारको भ्रममा नपर्न अग्रह गर्दछु’ नेता भट्टले भने ।