Skip to main content

गेटामा विश्वविद्यालय सञ्चालन गर्न प्रतिनिधि सभाको समितिमा छलफल

Submitted by editor on
ईबिगुल संवाददाता
गेटामा विश्वविद्यालय

धनगढी : कैलालीको गेटामा विश्वविद्यालय सञ्चालन गर्न प्रतिनिधि सभाको समितिमा छलफल सुरु भएको छ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको विषयमा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भएको हो ।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल थालिएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणको कुरामा सबैले प्रतिबद्धता जनाएको बताएकी छन् । 

उनले स्वास्थ्य विज्ञान विश्वविद्यालय आवश्यक छ भन्ने कुरा आम रूपमा उठेको र संसदमा सबैले प्रतिबद्धता पनि जनाएको भन्दै सबैले एकजुट भएर विश्वविद्यालय निर्माण गरेर जानुपर्ने बताएकी हुन । लामो समयदेखि बैठक र सभा हुन नसकेको सिटिइभिटीले दुवै बैठक राखेको भन्दै यसलाई नियमित गर्ने प्रयास गरेको पनि बताइन् ।

समिति सभापति अम्मरबहादुर थापाले समितिबाट निर्देशन भएर गएको विषयको प्रगतिबारे अनिवार्य रूपमा जानकारी गराउनुपर्ने बताएका छन । ‘जे कुराको समितिले निर्णय गरेर पठाउँछु । त्यो कुराहरूको के कस्तो प्रगति भएको छ, छैन वा गर्दैछौ भन्ने कुराको पनि जानकारी समितिमा आउनुपर्छ । यो मन्त्री ज्यूलाई एउटा मेरो आग्रह छ,’ थापाले भने ।