धनगढी । पोखरामा सेती ड्यामबाट खसेर धनगढीका एक विद्यार्थीको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१६ दिपहाउजिङ नजिकै रहेको सेती नदीको ड्यामबाट खसेर २१ वर्षीय संगम पौडेलको मृत्यु भएको हो ।
धनगढी स्थायी घर भई पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस (डब्लूआरसी) लामाचौरमा अध्ययनरत २१ वर्षीय पौडेल क्याम्पस नजिकै पोखरा–१९ लामाचौरमा डेरा गरी बस्दै आएको बताइन्छ ।
बुधवार साँझ ७ बजेर २० मिनेटमा सेतीको ड्याममा मान्छे खसेको सूचना आएपछि सशस्त्र प्रहरी बल, कालीका गण कास्कीबाट उद्धार टोली खटिएको गणका सूचना अधिकारी डीएसपी राजनलाल श्रेष्ठले बताएका छन ।
चार जना गोताखोरसहित ९ जनाको विशेष विपद् व्यवस्थापन टोलीले उनको शव निकाली पोस्टमार्टमका लागि मनिपाल शिक्षण अस्पताल लगिएको छ। सशस्त्रले २० मिनेटमै नदीबाट शव निकालेर अस्पताल पुर्याएको थियो ।