हरैया (कैलाली) ः विशेष आर्थिक क्षेत्र प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत नियुक्त भएपछि कैलालीको गोदावरी नगरपालिकाको हरैयामा निर्माण हुने भनिएको विषेश आर्थिक क्षेत्र (सेज)को काम पनि अघि बढने आशा पलाएको छ ।
कार्यकारी अधिकृतमा बाजुराका छत्र कटुवाल नियुक्त भएपनि वाँणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले मंगलबार उक्त क्षेत्रको निरिक्षण गर्दै प्रायभेट पब्लिक पार्टनरसीप (पिपिपि) मोडेलमा यसै आर्थिक वर्षदेखि सेजमा पुर्वाधार निर्माणको काम सुरु हुने बताए । ‘औद्योगिक पुर्वाधार निर्माणका लागि केही कानूनी जटिलता थिए । मन्त्रालयले ती जटिलतालाई फाष्ट्र ट्रयाकबाट निराकरण गरेको छ । अब सेजको काममा सहजता भएको छ’ उनले भने ।
मन्त्री भण्डारीले औद्योगिक पुर्वाधार निर्माणका लागि बाधक बनेका पुराना ११ वटा कानूनमा संसोधन गरिएको बताए । ‘यसपाली हरैयाको सेजका लागि १ करोड रकमको बजेट विनियोजन भएको छ । वातावरण प्रभाव मूल्यांकनको रिपोर्ट बन मन्त्रालयमा गएर रोकिएको छ । यसपाली हरैयाको डिपिआर तयार पार्ने, चार किल्ला छुट्याएर घरपर्खाल लगाउने र वातावरण प्रभाव मूल्यांकनको काम सक्ने गरी कार्य अघि बढेको छ’ उनले भने ।
सरकारले कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर ७ र ८ मा रहेको हरैयालाई २०७८ साल देखि नै विशेष आर्थिक क्षेत्र बनाउने घोषणा गरेको थियो । यसअघि लगानी बोर्डका सिईओ सहितको टोलीले पनि उक्त क्षेत्रको पटक पटक प्रमण र अनुगमन गरिसकेका छन ।
‘प्रारम्भिक काम सकियो भने चाडै हामी पीपीपी मोडलबारे सुरु गर्छौ । ता कि सुदूरपश्चिमका लागानीकर्ताहरुले हाम्रो तोकिएको सीमा क्षेत्र भित्रका ब्लकहरूमा सेजको डिजाइनमा गरिएको डिपीआर अनुसार ब्लक बनाउन सकुन’ उनले भने । ‘त्यो ब्लकलाई भोलि औद्योगिक विकासका लागि क्रमशः भाडामा दिन सकियोस । त्यसको मुनाफा लगानीकर्ताले लान सकोस् ।’
उनले सेज अन्तर्गतका उद्योगहरुको निर्यात प्रतिसत पनि ६० बाट घटाएर ३० मा झारेकाले लगानीकर्ताहरुमा उत्साह आएको बताए । ‘विषेश औद्योगिक क्षेत्रका उद्योगहरुले ६० प्रतिसत निर्यात अनिवार्य गरिएको कानून थियो, हामीले त्यो संसोधन गरेर निर्यातको प्रतिसत ३० तोकेका छौं, त्यसले पनि उद्योगमा लगानीकर्ताहरुको आकर्षण बढिरहेको छ’ मन्त्री भण्डारीले भने ।
उनले सरकारको बजेट मात्रै पर्खिएर नहुने बताए । उनले भने ‘त्यसैले हामी यतीखेर सरकारको बजेटलाई पर्खिनुभन्दा पनि निजी क्षेत्रको बजेट, बाह्य लगानी, आन्तरिक लगानीबाट पनि अहिलेका पूर्वाधारलाई पनि प्राथमिकतामा राख्ने गरी सरकारले योजना अगाडि बढाएको छ ।’
विशेष आर्थिक क्षेत्र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छत्र कटुवालले वातावरण प्रभाव मूल्यांकनका लागि कागजात वन विभागमा पठाइएकाले स्वीकृत हुने बित्तिकै काम अगाडि बढाइने बताए । उनले सेजको डिपीआर निर्माणको क्रममा रहेको बताए ।
हरैयामा सेज निर्माणका लागि केही दिनमै सम्बन्धित सरोकारवाहरुसँग धनगढीमा छलफल गर्ने तयारी पनि सरकारले गरेको कार्यकारी अधिकृत कटुवालले बताए ।
हरैया, शान्ति, लक्ष्मी र गोलादेउ गरी चारवटा सामुदायीक बनमा बन्ने विषेश आर्थिक क्षेत्र९९.९१ हेक्टर अथवा १४७ विघा क्षेत्रफलमा बन्नेछ । सेज निर्माण पूर्व १६हजार १३४ रुखहरु कटानको प्रस्ताव गरिएको छ । यस क्षेत्रमा काम अगाडि बढाउने भन्दै ५ वर्ष अघि २०७६ मा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट पनि अवलोकन गरेका थिए ।