धनगढी: अतिक्रमण खाली गरिएको पुरैना तालमा फेरि कब्जा जमाएका छन । कैलालीको भजनी नगरपालिका–७ को पुरैना तालमा ६० परिवारले फेरि कब्जा गरेका हुन ।
डिभिजन वन कार्यालय, पहलमानपुरको टोलीले अतिक्रमण खाली गरे लगत्तै उनीहरूले ताल क्षेत्रमा गहुँ खेती गरेका छन। सुदूरपश्चिम प्रदेश सरकारले ताललाई पुनर्जीवन दिन नसकेको हो। स्थानीय ६० जनाले ताल क्षेत्रको जग्गा दर्ताका लागि सुकुमवासी आयोगमा फारम भरेका छन । उनीहरुको विवादका बिचमा ताल व्यवस्थापनको काम रोकिएको छ । डिभिजन वन कार्यालय, पहलमानपुरले गत वर्ष रेखाङ्कन पुरैना तालको क्षेत्र छुट्याइएको थियो । तर, ताल क्षेत्र रेखाङ्कन गरेर उठाइएको बाँध भत्काएर स्थानीयले पुनः खेती गरेका छन् । डिभिजन वन कार्यालय, पहलमानपुरका प्रमुख रामचन्द्र कँडेलले अतिक्रमण खाली गरिएको ताल फेरि अतिक्रमणमा रहेको बताए । उनले भने, ‘हामीले खाली गरेको हो । तर, उहाँहरू फेरि बस्नु भएको छ । अहिले खेती गरिएको छ। हामी खाली गराउने योजना बनाउदैछौ ।’
वसन्ता वन र दुधुवा नेसनल पार्कको बिच फाँटमा पर्ने करिब ५२० बिघा क्षेत्रफलमा रहेको पुरैना ताल कुनै बेला दुर्लभ सारसका लागि प्राकृतिक वासस्थान हो । कैयौँ अन्य प्रजातिका जलीय पन्छी पनि तालमा बस्ने गर्दथे। २०७० सालबाट ताल क्षेत्र अतिक्रमित हुँदै खेतीयोग्य जमिनमा परिणत भएको छ । कँडेलले भने, ‘स्थानीय तहका जनप्रतिनिधि, मन्त्री ज्यूसहित जाने भनेका छौ । ताल फेरि अतिक्रमण भयो । हामी खाली गराउछौ ।’ २०३९ सालमा सुकुमवासी आयोगले आठ कट्टाको दरले जग्गा दिएको स्थानीयको दाबी छ । उनीहरूले सो जग्गा निकालि दिन आग्रह गरेका हुन ।
ताल व्यवस्थापनका लागि यस वर्ष पनि नेपाल सरकारले बजेट दिएको डिभिजन वन कार्यालयले जनाएको छ । दुई महत्वपूर्ण वन क्षेत्रको काखमा रहेको पुरैना तालमा सन् २००६ मा विभिन्न प्रजातिका नौ हजार ८२३ वटा चरा अभिलेख भएका थिए । सन् २०२२ मा गरिएको अध्ययनको क्रममा एक हजार ५० चरा मात्रै भेटिएका जनाइएको छ ।