धनगढी : कैलालीमा सामुदायिक वनका अध्यक्षले काठ तस्करी गरेका छन्।
भजनी नगरपालिका–९ को सरस्वती सामुदायिक वनका अध्यक्ष बुधराम चौधरीले बिना इजाजत काठ कटानी गरेका हुन्।
सब–डिभिजन वन कार्यालयले सरस्वती सामुदायिक वनको घाटगद्धीमा जम्मा गरेको १२१ दशमलव ४५ क्यूफिट सालको काठ बिना इजाजत कटानी गरेको पाएको हो। सरस्वती सामुदायिक वनका अध्यक्ष बुधराम चौधरीले बिना इजाजत सालका नौ गोलिया काठ कटान गरेर लुकाएको अवस्थामा फेला पारेको सब डिभिजन वन कार्यालयका प्रमुख लालबहादुर विकले बताए। सब डिभिजन वन कार्यालयले असार ४ गते काठ बरामद गरेको मुचुल्का तयार पारेको छ। तर, काठ तस्करी गर्ने सामुदायिक वनका अध्यक्ष चौधरी अझै फरार रहेका छन्। लालबहादुरले भने, ‘हामीले काठ बरामद गरेका छौ। मुचुल्का पनि बनाएका छौ। सामुदायिक वनका अध्यक्षले बिना इजाजत काठ कटानी गर्नु भएको हो। उहाँ अहिले फरार हुनु भएको छ। जिल्ला अदालतबाट पक्राउ पुर्जी ल्याउन जाँदैछु। पक्राउ पुर्जीपछि प्रहरीको सहयोगमा सामुदायिक वनका अध्यक्षलाई पक्राउ गर्छौ।’
सब डिभिजन वन कार्यालयको मुचुल्कामा वीरबहादुर चौधरीको १३६ दशमलव १२ क्यूफिट, निर बोहराको ५७ दशमलव ७४ क्यूफिट, वीरेन्द्र चौधरीको ८७ दशमलव २३ क्यूफिट र सामुदायिक वनका अध्यक्ष बुधराम चौधरीको ४५ दशमलव ५३ काठ रहेको उल्लेख गरिएको छ। सरस्वती सामुदायिक वनका अध्यक्ष बुधराम चौधरीले उपभोक्ताका घर–खेतमा रहेको साल तथा साजका रुखहरू कटानीका लागि मौखिक स्वीकृति दिएका थिए। सामुदायिक वनका अध्यक्षबाट रुख कटानीको मौखिक स्वीकृति पाएका अन्य उपभोक्ताहरूले पनि वन कार्यालयको इजाजत बिना काट कटानी गरेका हुन्।