धनगढी: कैलालीको गर्भामा रहेको दरबार बेवारिसे बनेको छ ।चुरे गाउँपालिका–४ गर्भामा रहेको ऐतिहासिक महत्वको दरबार बेवारिसे बनेको हो ।
राणाकालीन दरबार संरक्षण र प्रयोग नहुँदा जीर्ण हुँदै बेवारिसे बनेको छ । कैयौँ वर्षदेखि प्रयोगमा नआएको दरबार अलपत्र अवस्थामा छ । छाना उप्किन थालेको दरबारको भित्ता पनि भत्किन थालेका छन्। त्यस्तै, झ्याल, ढोका सबै भत्किएका छन् । त्यसमा रहेका मूर्ति चोरी भइसकेका छन् । पर्यटन सम्भावनाको दरबार खण्डहरमा परिणत भएको छ । गर्भा दरबार अत्यधिक जीर्ण छ । चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले पुरातत्त्व विभागले संरक्षण गर्ने आश्वासन दिएको बताए । उनले भने, ‘प्रदेश सरकारले १० लाख बजेट दिएको छ । दरबार घेरबारका लागि प्रदेशले बजेट हालेको हो । यो पटक घेरबार हुन्छ । मर्मत गर्न मिल्दैन । सिमेन्टले छुन पनि हुँदैन । पुरातत्त्व विभागले हामी संरक्षण गर्छाै भनेको छ ।’
तत्कालीन राणा शासकहरूले पोत (कर) उठाउने र मुद्दा मामिला मिलाउने उद्देश्यका साथ यो दरबार बनाएका बुझिएको छ । तर, ९७ वर्ष पुरानो दरबार २४ वर्षदेखि प्रयोग विहीन छ। स्थानीयका अनुसार १९७९ मा शिलान्यास गरिएको दरबार १९८४ मा बनाइएको थियो। यो दरबार बनाउन पाँच वर्ष लागेको हो ।
दरबारमा ८३ झ्याल र ५३ वटा ढोका छन् । तीन तले दरबारको पर्खालमा मासको गारो पोतिएको थियो भने, जापानबाट ल्याइएको जस्तापाताले छाइएको छ । जीर्ण भइसकेको दरबार भत्काएर बनाउनका लागि सुदूरपश्चिम प्रदेश सरकारले २० करोड रुपियाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएको जनाइएको छ । तर, पुरातत्त्व विभागले अनुमति नदिँदा काम नहुने भएको छ । गाउँपालिकाका अध्यक्ष बोगटीले विभागले आफै संरक्षणको काम गर्ने बताएको छ ।
प्रदेश सरकारले गर्भा दरबारलाई पर्यटकीय स्थल बनाउन खोजेको थियो। त्यसका लागि पुरानो संरचनालाई भत्काएर पहिलेको जस्तै नयाँ दरबार बनाउने योजना बनाइएको हो। तर, विभागले रोकेको छ। दरबारसम्म सडक यातायातको पहुँच छ। अहिले बाटोको समस्या नरहेका कारण पर्यटन व्यवसाय फस्टाउन सक्ने उनले बताए। गौरीगङ्गा नगरपालिका–१ चौमाला हुँदै गर्भा दरबारसम्म पुग्ने बाटो बनिसकेको छ। त्यस्तै, वडा नम्बर ४, २, १ हुँदै बाटो पालिका मुकाम सहजपुरमा पनि जोडिएको छ । दुईतिरबाट गर्भा दरबारसम्म पुग्न सकिन्छ । विद्युत् विस्तारको काम पनि हुँदैछ ।
विक्रम सम्वत् २०३३ सालदेखि दरबारमा मान्छे बस्न छोडेका थिए । पछि यसैमा हुलाक र गाविस कार्यालय राखिएको थियो । तर, तत्कालीन १० वर्षे द्वन्द्वको क्रममा हुलाक र गाविस कार्यालयमा आगजनी भएपछि कुनै पनि प्रयोजनार्थ यो दरबार उपयोग भएको छैन । २०५७ सालबाट दरबारको स्याहार, सम्भार हुन छोडेको हो । दरबारको १३ रोपनी जग्गामध्ये आधा स्थानीय बस्नेत निम्न माध्यमिक विद्यालय र आधा वडा कार्यालयको नाममा रहेको छ । वडा कार्यालयको भवन निर्माण हुँदैछ ।
दरबार पुनः निर्माणको काम नभएपछि खण्डहरमा परिणत भएको हो । आर्थिक वर्ष २०७७/७८ मा पनि प्रदेश सरकारले ५० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । तर, काम भएन ।
दरबार सुरुमा श्रीबहादुर शमशेर दरबारको नामले चिनिएको बताइन्छ । खैरालाको गर्भा भन्ने स्थानमा रहेकाले पछि मात्रै यसको नाम गर्भा दरबार राखियो। दरबार खडक शमशेरले बनाए पनि राणाहरूले अंशबन्डा गर्दा गर्भा दरबार लेफ्टिनेन्ट जर्नेल बहादुर शमशेरको स्वामित्वमा आएको बताइएको छ। राणाहरूले छोडेको दरबार अब बेवारिसे अवस्थामा रहेको छ ।