धनगढी : बैतडीको पञ्चेश्वर गाउँपालिका–१ का ६७ वर्षीय कल्यान सिंह साउँदलाई पञ्चेश्वर वहुद्देश्यीय परियोजनाको बारेमा सोध्दा निरास हुन्छन । भन्छन ‘बन्ला र यो परियोजना ?’ कुनै नेताले भारत भ्रमण गरेको बेला र चुनावका बेला मात्र यो विषयमा कुरा सुनिने साउँद बताउछन् ।
गत वर्षको संसदीय चुनावमा तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले शिवनाथको चुनावी कार्यक्रममा पञ्चेश्वर परियोजना अघि बढ्ने बताएका थिए । सोही कुरालाई स्मरण गर्दै ६७ वर्षीय साउँदले चुनावको बेला र उच्चस्तरीय नेताहरु भारत भ्रमणमा गएका बेला मात्रै यस परियेजनाको बारेमा सुन्ने गरेको बताए ।
‘चुनावका बेला पालिकास्तरका नेतादेखि शीर्ष नेताहरु बोल्छन, भारतमा हुने भ्रमणका बेला पनि यो कुरा उठ्छ, तर कामको प्रक्रिया अघि बढ्दैन के आस गर्नु ?’ ६७ वर्षका साउदले भने । ‘यस योजनाले नेपालको कायापलट भने गर्नसक्छ ।’
बैतडीको पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा बन्ने भनिएको परियोजनाको कामकारवाही अघि नबढ्दा यहाँका स्थानीयहरु निरास छन् । यस परियोजनाबारे यहाँका स्थानीयहरुमा नैरास्यता उत्पन्न भएको पञ्चेश्वर गाउँपालिका–१ नागाजुर्न आधारभुत विद्यालयका प्रधानाध्यापक सुरेश राम सार्की बताउछन् ।
‘यहाँका स्थानीयहरुको यस परियोजनाले सुदूरपश्चिमको मात्रै नभई देशकै मुहार फेर्ने सपना थियो, तर यो सपना विस्तारै क्षय हुदै गएको छ,’ सार्कीले भने, ‘नेताहरुले चुनावका बेलामात्रै यस विषयमा कुरा उठाउने र व्यावहारमा लागु नगर्दा स्थानीयहरु निरास छन् ।’
पञ्चेश्वर परियोजना बन्ने भनिएको ठाउँका स्थानीयहरु आधारभूत आवश्यकता समेत परिपुर्ती भइरहेको छैन । खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत र पुर्वाधारबाट पछि परेका पञ्चेश्वर गाउँपालिकाबासीहरुले यस परियोजनाको पूर्णताबारे अझै पनि झिनो आसा भने कायमै राखेका छन् ।
‘यहाँका स्थानीयहरु परिवार पाल्न भारत नै जाने गरेका छन्, दैनिक उपभोग्यका सरसामान ल्याउन पनि किनमेलका लागि महाकाली तरेर भारतीय बजार जाने गरेका छौँ, यो परियोजना बन्यो भने समृद्धिका सपना पुरा हुने थिए’ अर्का स्थानीय नारायण चौडाला भन्छन् ।
पञ्चेश्वरमा खानेपानी तथा सिँचाईको चरम समस्या रहेको छ । सडक पुर्वाधारले पूर्णता पाउन सकेको छैन भने विद्युत समेत विस्तार हुन सकेको छैन । यहाँका युवाहरु रोजगारीको लागि महाकाली तरेर रोजगारीको लागि भारत जाने गरेका छन् ।
स्वास्थ्य सेवाका लागि पनि महाकालीमा ट्यूव तथा ढुंगाको जोखिमपूर्ण यात्रा गरेर भारतको टनकपुर तथा पिथौरागढ जाने गरेका छन् । यतिमात्रै होइन दैनिक उपभोगका सरसामान लिनको लागि समेत डुंगाको जोखिमपूर्ण यात्रा गरेर भारतीय बजारमा निर्भर रहेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी र पुर्वाधारबाट पछि परेको क्षेत्रमा देशकै समृद्धिसँग जोडिएका पञ्चेश्वर परियोजना बन्नसके यहाँको जनजीवनले कोल्टे फेर्ने शिवनाथका राजेन्द्र चाँड बताउछन् ।
पञ्चेश्वर परियोजनाको लागि केहि पुर्वाधारहरु बनेका छन् । पञ्चेश्वर गाउँपालिका –१ मा परियोजनाको कार्यालयमा अहिले सशस्त्र प्रहरीको विओपी छ । त्यस वरपर केहि सुरुङ निर्माणको सुरुवात भएको पनि देखिन्छ । त्यसैगरी परियोजनको लागि सुरुवात गरिएका केहि औजारहरु पनि देख्न सकिन्छ । ‘केहि निर्माण सामाग्रीहरु महाकालीले बगायो, केहि खिया लागेर नष्ट भए, केहि अझै पनि छन्,’ परियोजनाको कार्यालयको चौकीदारी गरीरहेका जनक सिंह साउँद बताउछन् ।
केन्द्र सरकारले गम्भिर रुपमा लिएर द्विपक्षिय वार्ताबाट समस्याको समाधान निकाल्नु पर्ने पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्द बताउछन् । ‘यहाँका नागरिकले यस परियोजनाबाट थुप्रै अपेक्षा गरेका छन्, देशको समृद्धिसँगै रोजगारीको महत्वपूर्ण कडीको रुपमा यस परियोजनालाई हेरेका छौँ, केन्द्र सरकारले द्विपक्षिय वार्ता गरेर समस्याको समाधान गर्न ढिलाई गर्नु हुदैन’ अध्यक्ष चन्दले भने ।
पुर्वाधारले पछि परेको सुदूरपश्चिममा पञ्चेश्वर परियोजना मात्रै बनाउन सक्यो भने सुदूरपश्चिमबाट देश विकासको ढोका खुल्ने अध्यक्ष चन्दको भनाइ छ । ‘यो परियोजनाको सुरुवात समेत हुने हो भने यहाँ थुप्रै विकासका पुर्वाधाहरु अघि बढ्छन्, देश विकासको ढोका सुदूरपश्चिमबाटै खुल्छ, ।’
पञ्चेश्वर परियोजना २८ वर्षदेखि चर्चामा छ । २०५२ माघ २९ गते तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा र उनका भारतीय समकक्षी पीभी नरसिंह रावले महाकाली सन्धीमा हस्ताक्षर गरेका थिए । उक्त सन्धीमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) ६ महिनाभित्रै गर्ने सहमति भएको थियो । तर हालसम्म पनि पञ्चेश्जर बहुद्देश्यीय परियोजनाको डिपिआर तयार भएको छैन ।
२०७१ साउन १८ गते नेपालको संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर परियोजना नेपालको ‘गेमचेन्जर परियोजना’ रहेको भन्दै यसलाई अघि बढउने बाचा समेत गरेका थिए । तर त्यसपछि पनि खासै प्रगति हुन सकेन ।
त्यसपछि पनि २०७७ मा भारतीय पक्षले उक्त परियोजना अघि बढाउने भन्दै छलफलका लागि नेपाली पक्षलाई बोलाएको थियो । त्यसपछि नेपालको तर्फबाट उर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयबाट एक टोली भारत गएको थियो । त्यस छलफलमा पनि पञ्चश्वर परियोजनालाई अघि बढाउनेबारे केहि सहमती भएको थियो । तर कुनै प्रक्रिया अघि बढेन ।
भारतका विदेश मन्त्री एस जयशंकर र नेपालका तत्कालिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित दुई देशका अधिकारीहरूबीचको बैठकमा समेत यो विषयमा छलफल भएको थियो ।
डिपिआर टुङ्ग्याउनको लागि बेला बेला प्राबिधिक समुह, विज्ञ समुहको गठन गरिएको भएपनि २८ वर्षसम्म प्रगति शून्यप्राय छ । त्यसैले पनि यहाँका स्थानीयहरु यस परियोजनालाई ‘सपनाको परियोजना’ भन्ने गरेका छन् ।
नेपाल र भारतको तर्फबाट भइरहेने दुई देशीय भ्रमणको समयमा चर्चाकै विषय बन्ने गरेको यो परियोजना अघि बढ्नेमा यहाँका स्थानीयहले आशंका व्यक्त गरेका छन् । पञ्चेश्वर परियोजनाबाट ६ हजार ४८० मेगावाट विद्युत् उत्पादन गरिने भनिएको छ ।