धनगढी : सुदूरपश्चिम प्रदेशमा कार्यरत लेखा समूहका अधिकृत स्तरका कर्मचारीले आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा धर्ना दिएका छन् । लेखा समूहको नवौं तह पद बढुवाको विज्ञापन खोल्नु पर्ने माग गर्दै उनीहरूले धर्ना दिएका हुन् ।
प्रदेश लोकसेवा आयोगले गत फागुनमा प्रशासन समूहको नवौं तह बढुवाको विज्ञापन निकालेको थियो । प्रशासनतर्फको मात्रै विज्ञापन खोलेपछि आफूहरू अन्यायमा परेको लेखा समूहको ठहर छ । उनीहरूले प्रदेश निजामती सेवाको नवौं तहमा प्रशासन सेवाका समूह हटाउन माग गरेका छन् ।
लेखा समूहको ओएनएम गर्न माग उनीहरूको छ । प्रदेश लोकसेवा आयोगले फागुन २० गते खोलेको प्रशासन सेवाको विज्ञापन स्थगित गरी सबै समूहलाई समेटेर पुनः एकमुस्ट विज्ञापन गर्न आन्दोलनरत कर्मचारीको माग छ । प्रदेश लोक सेवाले मागहरू पूरा गर्न नसकिए सुदूरपश्चिम प्रदेशमा समायोजित लेखा अधिकृतहरूलाई संघमा फिर्ता पठाउन माग उनीहरूको छ । सुदूरपश्चिममा लेखा समूहतर्फ अधिकृत स्तरका २५ जना कर्मचारी कार्यरत रहेका जनाइएको छ ।
तीन बुँदे माग राख्दै एक हप्तादेखि लेखा समूहका कर्मचारीको संघर्षमा छन् । आन्दोलनरत लेखा समूहका कर्मचारीले प्रदेश लेखा नियन्त्रक कार्यालयसहित नौवटै जिल्ला कार्यबाट भुक्तानी ठप्प गरेका छन् ।