Skip to main content

डोटीमा खानेपानीको हाहाकार, ट्याङ्करमा पानी बोक्दै गाउँपालिका

Submitted by editor on
ईबिगुल संवाददाता
खानेपानी

धनगढी। डोटीको बडीकेदार गाउँपालिकाको सदरमुकाम खँड्यौलीमा खानेपानीको हाहाकार भएको छ। बडीकेदार गाउँपालिका–२ खँड्यौलीमा खानेपानीको हाहाकार भएको हो।

पानीको अभाव हुँदा अहिले २० किलोमिटर टाढा पर्ने बडीकेदार गाउँपालिका १ विपीनगरको ठुली गाडबाट ट्याङ्करमा पानी ढुवानी थालिएको छ। खँड्यौलीका नागरिक गाउँपालिकाले ट्याङ्करमा ओसारेको पानीले दैनिकी चलाउन बाध्य रहेको हुन। सङ्घीयतापछि डोटीका मान्नाकापडी, बर्छैन, लानाकेदारेश्वर र घागल गाउँ विकास समितिहरू मिलेर बडीकेदार गाउँपालिका बनेको थियो। बडीकेदार गाउँपालिकाको मुकाम सबैको पायक पर्ने स्थान वडा नम्बर २ खँड्यौलीमा कायम गरिएको थियो। खानेपानीको आपूर्तिका लागि गाउँपालिकाले २०७५ सालमा डिप बोरिङको योजना सञ्चालनमा ल्याएको थियो। तर, उक्त योजना निमार्ण भई सञ्चालनमा आएको पाँच वर्ष पनि चलेन। पाँच वर्षको अवधिमा समस्या देखिएको थियो। निर्माण र समस्या समाधान तथा मर्मत का लागि ८० लाख बढी गाउँपालिकाले खर्च गरेको छ। तर, समस्या समाधान भएको छैन। हाल डिप बोरिङको पानी पूर्ण रूपमा बन्द भएपछि खँड्यौलीमा खानेपानीको अभाव भएको हो।

पानी अभावका कारण दैनिक व्यापार व्यवसाय तथा होटेल सञ्चालनमा प्रत्यक्षे असर परेको स्थानीय होटेल व्यवसायी राम बहादुर बिठाडीले बताए। उनले होटेलमा २/४ जना आउने बित्तिकै पानी अभावका कारण खाने, बस्ने सुविधा छैन भन्नु पर्ने बाध्यता रहेको बताए।

डिप बोरिङको पानी बन्द हुँदा पालिका र आवास क्षेत्रमा खानेपानीको अभाव भएको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बुढाले बताए। उनले भने ‘डिप बोरिङ बन्द भए पश्चात् हाल पालिकाले ट्याङ्करले पानी ओसार्दै छ। यो दिगो व्यवस्थापन होइन। सधैँ भर यसरी ट्याङ्करमा पानी ओसारेर पालिका चलाउन त सकिदैन।’ डिप बोरिङ सुकेपछि खाने पानीको हाहाकार भएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए। उनले भने, ‘अब पानी अभावका कारण पालिका सञ्चालनमा साह्रै गाह्रो भइसक्यो। दैनिक रूपमा पानी नभई नहुने कुरा हो। पानीको साह्रै अभाव छ। नजिक छेउछाउमा पानीका मुहान छैनन्। पालिका लगायत नजिकका बस्तीहरूमा पानी आपूर्ति गर्न घेरै समस्या छ। पालिकाको सानो तिनो स्रोतले पुग्दैन, यस विषयमा सङ्घीय सरकारले पहल गर्नुपर्छ।’

खानेपानीको दिगो व्यवस्थापन गर्न करिब ३० किलोमिटर टाढा रहको बडीकेदार धाम क्षेत्र धजालाउने पानी मुहानका लागि विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार पारिएको गाउँपालिकाले बताएको छ। आवश्यक कागजातसहित सङ्घीय खानेपानी कार्यालय धनगढीमा पेस गरेको छ। खानेपानीको लागत करिब १० करोड हुने छ। गाउँपालिका अध्यक्ष भैरवबहादुर साउँदले खानेपानी मन्त्रालय, खानेपानी विभाग, प्रधानमन्त्री कार्यालय दिनहुँ धाइरहेको बताए। उनले खाने पानीको आपूर्ति व्यवस्थापन गर्न सङ्घीय राजधानी काठमाण्डौमा रहेका सबै नेता, मन्त्री, विभागीय डिजीलाई भेटघाट गर्दै आएको बताए।