Skip to main content

लेनदेनको अडियो सार्वजनिक भएपछि सुदूरपश्चिमका वनमन्त्रीले दिए राजीनामा

Submitted by editor on
ईबिगुल संवाददाता
राजीनामा

धनगढीः आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन्।

नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीले शनिवार मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गर्दै राजीनामा दिएको घोषणा गरेका हुन्। त्यसपछि उनले मुख्यमन्त्रीकहाँ गएर राजीनामा दिएका छन्। पत्रकार सम्मेलनमा बोल्दै मन्त्री चौधरीले दीगो aवन व्यवस्थापन सम्बन्धी कार्यविधि आर्थिक लाभ लिनेगरी बनाउने विषयमा छलफल गरेको अडियो सार्वजनिक भएपछि चौधरीले नैतिकताका आधारमा पदमा नबस्ने घोषणा गरेको बताए।

चौधरीले उक्त अडियो भदौ महिनातिरको भएको बताउँदै केही काठ व्यवसायी र पार्टीका व्यक्ति छलफलमा रहेको खुलाएका छन्। भर्खरै मन्त्री बनेका कारण सचिवालयका कर्मचारीको आग्रहमा आफ्नै निवासमा उनीहरूसँग छलफल गरेको तर नियत गलत नभएको दाबी गरेका छन्। अडियोमा सुनिएजस्तो त्यसमा मुख्यमन्त्रीलाई मिलाउने कुरा आफूले नगरेको तर सोध्नुपर्ने कुरा राखेको उनी बताउँछन्।

प्रदेशका मुख्यमन्त्रीको उक्त प्रकरणमा कुनै संलग्नता नरहेको दाबी समेत गरिएको छ। सार्वजनिक अडियोमा दीगो वन व्यवस्थापन सम्बन्धि कार्यविधि आइतवार पारित गर्ने बताएका मन्त्रीले २५ देखि ३० चाहिने र पाँच जति मुख्यमन्त्रीलाई पनि दिनुपर्ने बताएको सुनिएको छ।

तर मन्त्री चौधरीले उक्त कार्यविधि अहिलेसम्म पारित नभएको बताए। अडियोमा सार्वजनिक भएको विषयमा आफूले कुनै लेनदेन नगरेको तर वन सम्बन्धि अनुभव नभएका कारण छलफलमा मात्र गरेको दाबी मन्त्री चौधरीको छ। उनले आफूमाथि छानबिन गर्न माग गर्दै दोषी देखिए कारवाही भोग्न तयार रहेको बताए। मन्त्री चौधरीले नागरिक उन्मुक्ति पार्टीको आन्तरिक शक्ति संघर्ष र अन्य राजनीतिक दलको षड्यन्त्रको सिकार आफूलाई बनाईएको दाबी गरेका छन्।