Skip to main content

जङ्गल जोगाउन उपभोक्तालाई ग्यास सिलिण्डर र चुल्हो वितरण

Submitted by editor on
ईबिगुल संवाददाता
सामुदायिक वन

कैलालीः भजनी नगरपालिका–९ का हेमराज चौधरीको आर्थिक अवस्था कमजोर छ। उनलाई खाना पकाउन दाउरा चाहिन्थ्यो।

दाउराको आवश्यकता उनले नजिकैको सामुदायिक वनबाट टार्दै आएका थिए। उनी दाउराको चुल्होबाट मुक्त भएका छन्। ओम शान्ति सामुदायिक वनले ग्यास सिलिण्डरसँगै चुल्हो पनि वितरण गरेपछि उनको मुहारमा चम आएको छ।

सामुदायिक वनले विपन्न उपभोक्तालाई ग्यास र चुल्हो वितरण गरेसँगै हेमराजजस्तै १८० परिवार दाउराको निर्भरताबाट मुक्त भएका छन्। हेमराज भन्छन्, “ग्यास चुल्हो पाएपछि त्यसैको सदुपयोग गर्छौँ। जङ्गल गएर दाउरा खोज्नुपर्ने बाध्यता अन्त्य भएको छ।”

वर्षौँदेखि दाउरा बालेर खाना पकाउनुपर्ने बाध्यता अन्त्य भएपछि सामुदायिक वनकी उपभोक्ता मधुदेवी चौधरी पनि दङदास छिन्। दाउराको जोहो गर्ने दिन गए। अब दाउरा खोज्ने समय अन्य काममा सदुपयोग गर्छु  उनले भनिन्, सिलिण्डरसँगै सँगै चुल्हो पनि पाएपछि हामी खुसी छौँ।

उपभोक्ता सुनिता चौधरीलाई यस वर्ष वर्षात्को समयमा हुने चिन्ता हटेको छ। दाउरामै खाना पकाउनुपर्ने बाध्यतामा रहेकी सुनिताले वर्षातको समयमा दाउरा पानीले भिजेको हुने हुँदा खाना पकाउन निकै दुःख हुने गरेको बताइन्। दाउरा ओभानोमा राख्ने ठाउँ छैन। आँगनमा राखेका दाउरा राम्रोसँग बल्दैनन्, उनी भन्छन्, अब त्यो पीडा फर्केर आउने छैन । घरमा ग्यास भएपछि खाना पकाउन सहज भएको छ।

विपन्न परिवारका आशाराम चौधरी सामुदायिक वनले ग्यास चुल्हो उपलब्ध गराउँदा आगामी दिनमा समयको बचत हुने बताउछन्। उनले दाउरा खोज्ने समय उत्पादनका क्षेत्रमा सदुपयोग गर्न सकिने बताए। एक जना दाउराको खोजीमा हिँड्नुपथ्र्यो। त्यति मात्र नभई खाना पकाउन पनि एक जनाको दैनिकी बन्दै आएको थियो, उनले भने, अब खाना पकाउन कसैलाई जिम्मा दिएर राख्नुपर्ने छैन। जतिबेला पनि खाना पकाएर खान सकिने भएको छ।

वनको आम्दानीबाट १८० परिवारलाई प्रतिपरिवार रु आठ हजारका दरले ग्यास चुल्हो वितरण गरिएको वनका अध्यक्ष राजकुमार चौधरीले जानकारी दिए। बर्सेनि उपभोक्तालाई दाउरा उपलब्ध गराउनुपर्ने हुन्थ्यो। उनीहरूको मागअनुसार दाउरा उपलब्ध नहुँदा झन् जङ्गल बढी मासिन थाल्यो, उनले भने, अब अधिकांश विपन्न परिवारले ग्यास चुल्हो पाएका छन्। जङ्गल जोगिने आशा छ।