Skip to main content

एमाले नेता पोखरेलले भने, अतिक्रमित भूमी फिर्ताको नेतृत्व लिएकै कारण एमालेको सरकार ढलाईयो

Submitted by editor on
ईबिगुल संवाददाता
ईश्वर पोखरेल


दार्चुला : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दार्चुलामा भारतले अतिक्रमण गरेको भुुभाग फिर्ता ह्ुनुपर्ने बताएका छन । नेकपा एमाले दार्चुलाको नवौं जिल्ला अधिवेशनको बुधबार उद्घाटन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन । 


‘एमालले हिजो यही दार्चुला जिल्लाको अतिक्रमित भूमी फिर्ताका लागि सबैभन्दा पहिला कदम चाल्यो, त्यो भूमी फिर्ता लिनुपर्छ भनेर संविधान संसोधन गरियो, चुच्चे नक्सा प्रकाशित गरियो । तर अब दोस्रो कदम भनेको छिमेकी भारतसँग कुरा गरेर हाम्रो अतिक्रमित भूूमी फिर्ता गराउनु हुनुपर्छ’ नेता पोखरेलले भने ।


उनले अतिक्रमण गरिएको भूूभाग फिर्ता लिनुपर्छ भन्ने अडानकै कारण एमलेको प्रधानमन्त्री हटाईएको बताए । ‘अतिक्रमण गरिएको भूूभाग फिर्ता लिनुपर्छ भन्ने अडानकै कारण, सिंगै देश एक भएर बोल्नुपर्छ भनेकै कारण एमालेको प्रधानमन्त्री तुरुन्तै हटाइयो’ नेता पोखरेलले 
भने ।


उनले दार्चुला जिल्लाको विकासमा नेकपा एमाले नेतृत्वको सरकारको महत्वपूर्ण भूमिका रहेको बताए । नेपाली सेना मार्फत तिंकर नाका खोल्ने काम सुरु गराउन एमाले नेतृत्वको सरकारले भूमिका खेलेको वरिष्ठ उपाध्यक्ष पोख्रेलको भनाई थियो । अहिलेको गठबन्धनको सरकारले कुनै काम गर्न नसक्ने उनको आरोप थियो ।


पूर्व मन्त्री गणेश सिंह ठगुन्नाले गोकुलेश्वर एयरपोर्ट निर्माणमा एमालेको सरकार भएको बेलामा मात्रै बजेट विनियोजन भएको स्मरण गराए । उनले अरू पार्टीको नेतृत्वका बेला बजेट काटिएको समेत बताए ।

जिल्ला कमिटी अध्यक्ष प्रेम सिंह धामीको अध्यक्षता सुरु भएको जिल्ला अधिवेशनमा एमालेका सचिव तथा सुदूरपश्चिम ईञ्चार्ज छविलाल विश्वकर्मा लगायतका नेताहरुको सहभागिता थियो । 


अधिवेशनबाट नेकपा एमाले जिल्लाको नयाँ नेतृत्व समेत चयन हुने छ । जिल्ला कमिटी अध्यक्षमा ४ जना सहित पाँच पदाधिकारीमा २७ जना आकांक्षीहरु छन् । 


जसमा अध्यक्ष पदमा ४ जना, उपाध्यक्षमा ५ जना, सचिवमा ५ जना र उपसचिवमा १३ जना आकांक्षी रहेका छन् । उपसचिव खुल्लातर्फ ७ जना र समावेशी महिलातर्फ ६ जना आकांक्षी देखिएका छन् । एमालेले दार्चुलाका ६१ वडामा पुस १४ गते शनिबार एकसाथ अधिवेशन प्रतिनिधि चयन गरिसकेको छ । नवौँ जिल्ला अधिवेशनमा झन्डै साढे चार सय प्रतिनिधि छनोट भएका छन् ।