Skip to main content

सुदूरपश्चिम प्रदेश सरकारको विकल्प खोज्ने बेला भयो : पुर्वमुख्यमन्त्री भट्ट

Submitted by editor on
ईबिगुल संवाददाता
पुर्व मुख्यमन्त्री त्रिलोचन भट्ट

धनगढी : सुदूरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री त्रिलोचन भट्टले बर्तमान प्रदेश सरकारको विकल्पका बारेमा सोच्ने बेला आएको बताएका छन । ईविगुलसँगको भेटमा उनले यस्तो बताएका हुन । 


‘प्रदेश सरकारको विकल्प खोज्ने बेला भयो, कुनै समन्वय र सल्लाह छैन, जनताको अपेक्षा अनुसार काम भएको छैन । सरकारको विकल्पका बारेमा पार्टीमा कुरा उठाउछु’ उनले भने । उनले प्रदेश सभामा १ वर्षसम्म कुनै पनि विजनेस नदिएर सरकारले आफुनो हैसियत देखाईसकेका बताए ।


‘प्रदेश सरकार गठन भएको एक वर्ष पुग्नै लागेको छ । तर प्रदेश सरकारको एक वर्ष सन्तोषजनक रहेन’ उनले भने । ‘अहिले गठबन्धनको सरकार हो, प्रदेश सरकारको गठबन्धनमा रहेका कुनै दलसँग समन्वय र सहकार्य छैन । मैले पनि त गठबन्धनकै सरकार चलाएको हो ।’


उनले प्रदेश सरकारले अहिलेसम्म प्रदेश सरकारलाई एउटा पनि विधेयक दिन नसकेको बताए । ‘पहिलो सरकारले एक वर्षमा १२ वटा भन्दा बढी कानून बनाईसकेको थियो, अहिलेका मन्त्रीहरुको संघीय राजधानीको भ्रमण बाहेक केही पनि काम देखिएको छैन’ उनले भने ।


उनले प्रदेश सरकारले ल्याएको बजेट पनि कानून सम्मत पास नभएको बताए । ‘प्रदेशको बजेटको पास गर्ने तरिका हेर्ने हो भने त्यसले मान्यता पाउदैन । बजेटमा आएका विकास निर्माणका योजनाहरु अलपत्र छन । योजना कार्यान्वयनको अवस्था उस्तै छ’ भट्टले भने । 


बुधबार पुर्व प्रदेश सभा सदस्य मञ्चको बैठकमा पनि प्रदेश सरकारको आलोचना भएको थियो । पहिलो प्रदेश सरकारले बनाएका कानून पनि कार्यान्वयनमा लैजान नसकेको, विकास निर्माणको बजेटमा प्रगती नभएको, नयाँ कानून र कानून संसोधनको प्रयासै नगरेको भन्दै सरकारको आलोचना भएको थियो ।